निस्दीमा पाँच सय प्रकारका कर

मुरली, बाँसुरी, गुलेली, थैली, जुम्रा/उडुस मार्ने औषधि बिक्रीमा समेत ५ रूपैयाँका दरले राजस्व बुझाउनुपर्छ । 
माधव अर्याल

निस्दी, पाल्पा — अरुण र निस्दी खोलाको डर सधैं छ । ग्रामीण कच्ची सडक बन्द छन् । गाउँपालिका केन्द्र मित्याल जाँदा कतिपयलाई बास नै बस्नुपर्छ । सयौं घरपरिवार टुकीको भरमा छन् । पानीका धारा घरघरमा पुगेका छैनन् । विद्यालयको सहज पहुँच छैन । अनेक थरी दुःख झेल्दै आएका निस्दीका बासिन्दालाई गाउँपालिकाले भने करको थुप्रो लगाएको छ । 

स्थानीय तह गठनपछि घरदैलोमै सुविधा पाउने आस गरेका नागरिक अहिले कर तिर्दै हैरान छन् । गाउँपालिकाको करको दर यो वर्ष झन् बढाएको छ । ‘केही वर्ष बढाउन नपरोस् भनेर करको दर निर्धारण गरेका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले भने, ‘२८ दिन गृहकार्य गरेर गत वर्ष नै करको दर निर्धारण गरेका थियौं ।’


गाउँपालिकाका अनुसार दैनिक सिफारिसबाटै बढी राजस्व संकलन हुने गरेको छ । गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । बस्यालका अनुसार २० लाख ७० हजार लक्ष्य लिएकामा २२ लाख उठेको छ । यस वर्ष २५ लाख ७० हजार आन्तरिक आम्दानीको लक्ष्य लिएको उनले बताए । ‘दुर्गम भएकाले अन्य आम्दानी खासै छैन,’ उनले भने ।


गाउँपालिकाले निवेदन दस्तुर १० रुपैयाँ लिने गरेको छ । नाता प्रमाणित, जन्ममिति प्रमाणित, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित, बसाइँसराइ, मृत्यु, व्यक्तिगत विवरण, हकवाला वा हकदार प्रमाणितको २ सय रुपैयाँ तोकिएको छ । अंग्रेजी माध्यममा सिफारिस र प्रमाणित गर्नुपर्दा भने ५ सय रुपैयाँ लिने गरिएको छ ।


संरक्षक प्रमाणित, संस्थागत र व्यक्तिगत संरक्षण सिफारिस, नागरिकता लिन, मोही लगत कट्टीको सिफारिस, चार किल्ला प्रमाणित, कागज मञ्जुरीनामा, मिलापत्रको कागजात गराउने निवेदनको पनि २ सय रुपैयाँ तोकिएको छ । वैदेशिक अध्ययन तथा रोजगार सिफारिसका लागि एक हजार तोकिएको छ ।


निःशुल्क, सःशुल्क स्वास्थ्य उपचार, घरबाटो प्रमाणित, नाम वा जन्ममिति संशोधन, जग्गाधनी पुर्जा हराएको, कित्ताकाट, जग्गादर्ता, आर्थिक अवस्था बलियो, दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने सिफारिसमा पनि गाउँपालिकाले २ सय रुपैयाँ लिने गरेको छ । जीवित रहेको सिफारिस गर्दा ३ सय रुपैयाँ लाग्छ ।


आर्थिक ऐन, २०७६ अनुसार नामसारी गर्ने सिफारिस गर्दा भने ५ सय रुपैयाँ लाग्छ । फरक जन्ममिति संशोधन, जग्गा मूल्यांकन, अदालतको कोट फि मिनाहा, नाबालक परिचयपत्र, चौपायासम्बन्धी, व्यवसाय दर्ता, विद्यालय ठाउँसारी, विवरण खुलाई पठाउने कार्यका लागि सिफारिस गर्दा पनि २ सय लाग्छ । पेन्सन सिफारिस वैदेशिक मुलुकका लागि ५ सय र नेपालका लागि ३ सय लिने गरिएको छ । वैवाहिक अंगीकृत नागरिकता सिफारिसको १ हजार, साधारण मुचुल्का सिफारिसको २ सय लाग्ने आर्थिक ऐनमा उल्लेख छ ।


‘सबैभन्दा धेरै सिफारिसका लागि आउने भनेकै यिनै शीर्षक हुन्,’ प्रमुख प्रशासकीय अधिकृत बस्यालले भने । उद्योग खोल्ने सिफारिसमा पनि करको दर महँगो छ । विभिन्न ३४ उद्योगका लागि करको दर निर्धारण गरिएको छ । चाउचाउ, बिस्कुट, चप्पल, सलाई उद्योग खोल्नलाई सिफारिस लिन १ हजार ५ सय तिर्नुपर्छ ।


प्लाई, काष्ठ, प्लास्टिक, गार्मेन्ट उद्योगका लागि ३ हजार राजस्व लिइन्छ । सःमिलसहितको काष्ठ उद्योग, डिस्टिलरी, इँटा, टायल, चुरोट, बिँडी, वेदबाँस फर्निचर उद्योग, गलैंचा उद्योगका लागि भने ५ हजार तोकिएको छ । तामा, आल्मुनियमजस्ता धातु, पशु आहार, भुजिया, पाउरोटी, ग्यारेज खोल्न एक हजार रुपैयाँ सिफारिस दस्तुर लाग्छ ।


कपडा रिफाइन उद्योगका लागि सिफारिस लिन ६ सय रुपैयाँ लाग्छ । दैनिक/साप्ताहिक हाटबजारमा प्रतिदिन जिउँदो खसी बोका, राँगा, सुँगुर बेच्नेलाई प्रतिगोटा २० रुपैयाँ दस्तुर लाग्छ । हाँस र परेवा बिक्री गर्दा पनि १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । मुरली, बाँसुरी, गुलेली, थैली, जुम्रा/उडुस मार्ने औषधि बिक्री गर्दा ५ रुपैयाँका दरले बिक्रीबापतको राजस्व गाउँपालिकालाई तिर्नुपर्छ ।


खेल तमासा देखाउने, प्रचारप्रसार गरी व्यवसाय गर्ने, फलामको समान, भाँडाकुँडा, फोटो, मर्मत, किराना, खुद्रा पसलको पनि करको दर तोकिएको छ । अहिलेसम्म निस्दी गाउँपालिकामा हाटबजार चलेको छैन । सडकको छेउमा विभिन्न पसल गर्नेलाई बहालबिटारी कर तोकेको छ ।


तर यस वर्ष १५ हजार मात्र आम्दानी हुने अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत बस्यालले बताए । यसमा जुनसुकै पसल राखे पनि सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । विज्ञापन करमार्फत ११ प्रकारका दायरा छन् । जडीबुटी, कवाडी र जीवजन्तु (प्रतिबन्धितबाहेक) का कर तोकिएको छ । टिमुरको दुई, दालचिनीको बोक्रा एक, तेजपातको ५० पैसा, चिउरी बियाँ, अम्रिसो ५० पैसा प्रतिकेजी कर तिर्नुपर्छ । कुरिलो, हर्रोबर्रो, सुठीको एक, अदुवा काँचो र बेसारको ५० पैसा, खयर प्रतिक्यु फिट दुई रुपैयाँ कर तोकेको छ ।


गाउँपालिकाले दलहन र कवाडी सामानको प्रतिकेजी ५० पैसा, वनकस बाबियोको प्रतिक्विन्टल १० रुपैयाँ तोकेको छ । प्रचलित कानुनले नगरेको मृत जीवजन्तुको हाड, सिङ, प्वाँख, छालाजस्ता वस्तुको २ सय तोकेको छ । आर्थिक ऐनअनुसार व्यवसाय करका लागि ५ लाखसम्मलाई ‘घ’, ५ देखि १२ लाखसम्मलाई ‘ग’, १२ देखि २० लाखसम्म ‘ख’ र २० लाखभन्दा माथिकालाई ‘क’ वर्ग तोकेर करको दर निर्धारण गरिएको छ ।


यसमा होटल, लज, रेस्टुरेन्ट, मदिरा पसल, मिठाई पसल, कपडा, फेन्सी, ऊनी धागो, जुत्ताचप्पल, निर्माण सामग्री, खाद्यान्न, भाँडा, स्टेसनरीलगायत पसल छन् । यहीअन्तर्गत इन्टरनेट, इलेक्ट्रोनिक, साइकल बिक्री, सवारी मोटर पार्ट्स, ड्राइभिङ इन्स्टिच्युट, ग्रिल, कवाडी सामानको थोक बिक्रेता, टेन्ट, पाउरोटी, सहकारी संस्थालगायत ७१ प्रकारमा करको दर छ ।


प्रमुख प्रशासकीय अधिकृत बस्यालका अनुसार सम्पत्ति कर भने स्वःघोषणा गरेर यस वर्षदेखि उठाउने निर्णय भएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले कार्यपालिकाको बैठकले अघिल्लो वर्ष निर्धारण गरेको करको दरलाई परिवर्तन नगरेको बताए । ‘आर्थिक ऐनअनुसार नै वर्षभरि कर लिइनेछ,’ उनले भने, ‘अन्य स्थानीय तहले जे गर्छन्, हामी पनि सोहीअनुसार गर्नेछौं ।’

प्रकाशित : श्रावण १६, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?