कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमावर्ती गाउँमा तुइनबाटै व्यापार

मनोज बडू

दार्चुला — सीमावर्ती क्षेत्रका बासिन्दालाई भारतीय बजारबाट दैनिक उपभोग्य सामान नल्याए गुजारै चल्दैन । ग्रामीण क्षेत्रका पसलेहरू पनि पारिबाटै व्यापारिक सामान ओसार्छन् । तर उनीहरूलाई सहज भने छैन । बर्खे भेलमा महाकालीबाट ट्युब र तुइनबाट सामान ओसार्दा ज्यानकै जोखिम उत्तिकै हुन्छ ।

सीमावर्ती गाउँमा तुइनबाटै व्यापार

सदरमुकाममाथि कालागाडदेखि सीतापुलसम्म तुइन र तल्लो भागमा खलंगादेखि लालीसम्मका दर्जनौं ठाउँमा सर्वसाधारण ट्युब र तुइनबाटै सामान ओसार्छन् । दैनिक उपभोग्यलगायत विकास निर्माणका लागि चाहिने जस्तापाता, सिमेन्ट, व्यापारिक सामान पनि त्यहीँबाट ल्याइन्छ । गाउँलेहरू भारतको धारचुलालगायत सीमावर्ती बजारबाट सामान किनेर सीधै गाउँसम्म पुर्‍याउने गरेका छन् । व्यासको तिग्रम, सीतापुल, महाकाली नगरपालिकाको दत्तु, मालिकार्जुन गाउँपालिकाको जौलजीवीबाहेक अन्य दर्जनौं अस्थायी नाका महाकाली नदीमै सञ्चालित छन् ।


‘गाउँघरमा बजार नहुँदा आफूहरूले बाध्य भएर भारतबाट दैनिक उपभोग्य सामान ल्याउनुपरेको छ,’ मालिकार्जुन गाउँपालिका ६, बाकुका श्यामसिंह धामीले भने, ‘व्यापारीहरूले पनि त्यसैगरी ल्याउने भएकाले उनीहरूका कारण हामी भने निगरानीमा रहनुपर्ने अवस्था छ ।’


भारतीय सुरक्षाकर्मीहरूको घरायसी सामान सहजै ल्याउन दिने र व्यापारिक प्रयोजनको सामान कडाइ गर्ने नीतिअनुसार समस्या झेल्नुपरेको उनको भनाइ छ । आफ्नै सदरमुकाम पुग्न ६/८ घण्टादेखि डेढ दिन पैदल हिँडेर पुगिने हुँदा बाध्यताले जोखिमपूर्ण तुइन र ट्युबबाट दैनिक गुजारा चलाइरहेको स्थानीय बताउँछन् ।


जोखिम मोलेरै गर्भवती, वृद्धवृद्धा र बिरामी तुइन र ट्युबबाटै आउजाउ गर्न बाध्य छन् । यहाँका नागरिकले दुई दशक अघिबाट महाकाली नदीमा नेपाल भारत जोड्ने पुल बन्छ भन्ने सुन्दै आए पनि अझै बन्न सकेको छैन । भारतमा कुनै ठूलो घटना भए, विशिष्ट व्यक्तिको सीमावर्ती क्षेत्रमा भ्रमण र चुनावका बेला भारतीय पक्षले सीमामा निगरानी बढाउने गरेको छ । यस्तो बेला भारतीय एसएसबीले तुइन काट्ने र ट्युब फुटाउने गर्छन् ।


‘व्यासका बासिन्दालाई तुइन तर्नुको विकल्प छैन,’ वडा ५ का हरसिंह धामीले भने, ‘तुइन काटेर पुल हालिदिए राहत मिल्थ्यो ।’ महाकालीमा पानी बढी हुने बेला बर्खामा थोरै र सुक्खा मौसममा धेरै ठाउँमा तुइन जोडिने गरेका छन् । अहिले पनि उत्तरी क्षेत्रका स्याकु घाट, नाजी, मल्घट्या, डोकट, बत्तीघाट, मालघाट, गस्कु र दुम्लिङ क्षेत्रमा तुइनको प्रयोग हँदै आएको छ ।


मालिकार्जुन र लेकम गाउपालिकाका उकु, बाकु, लाली, सेरालगायत आधा दर्जन गाउँका बासिन्दा घाटबाटै ट्युब चढेर महाकाली ओहोरदोहोर गर्छन् । लेकम गाउँपालिकाको सेरादेखि व्यासको सीतापुलसम्म नेपाल–भारत सीमामा एकमात्र छोटी भन्सार नाका पर्छ । खलंगा, दत्तु, जौलजीवी र तिग्रम नाकामा भने नेपाली सुरक्षाकर्मी उपस्थिति छ ।

प्रकाशित : श्रावण १६, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?