कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारामा घटे पर्यटक

‘राराको प्रचार, पाहुनाका लागि खानबस्न उचित पूर्वाधार र बाटोघाटो नहुँदा पनि पर्यटक आगमन दरमा असर पर्‍यो’ 

मुगु र हुम्ला — हिमाली जिल्ला मुगु र हुम्लाको आन्तरिक आय स्रोतमा प्रमुख पर्यटन व्यवसाय हो । मुगुमा रारा ताल घुम्न आन्तरिक पर्यटक आउँछन् भने हुम्लामा मानसरोवर यात्रा गर्न जाने भारतीय पर्यटक पुग्छन् । केही समययता पर्यटक आगमनमा निकै कमी आएको छ ।

रारामा घटे पर्यटक

गत आवमा रारामा पुगेका पर्यटकको संख्या ११ हजार ७ सय थियो । उक्त संख्या अघिल्लो आवको भन्दा करिब ४ हजारले कमी हो । रारा राष्ट्रिय निकुञ्ज प्रमुख लालबहादुर भण्डारीका अनुसार आगमनदर वृद्धि हुनुपर्नेमा घट्नु चिन्ताजनक छ ।


गत वर्ष सार्क मुलुकबाट ५५ र अन्य तेस्रो मुलुकबाट पुगेका पर्यटक ४ सय १० थिए । ‘राराको प्रचार, पाहुनाका लागि खानबस्न उचित पूर्वाधार र बाटोघाटोका कारण पनि आगमन दरमा असर परेको हुनुपर्छ,’ उनले भने, ‘पर्यटक आगमनको दर बढाउन पूर्वाधार विकासमा साथै देशबाहिर पनि प्रचार गर्नुपर्छ ।’


रारा क्षेत्रमा अझै पनि स्तरीय सडक र सुविधा सम्पन्न होटेल छैनन् । बाटोका कारण पर्यटकलाई असुविधा छँदै छ, पुगेपछि सजिलै खान र बस्न पनि सहज छैन । खानपिन र बासको लागि अनेक सास्ती खेप्नुपर्छ । रारा कर्णाली राजमार्गको नाग्म–गमगढी सडक भएर पुगिन्छ । उक्त खण्ड स्तरोन्नति भएको छैन । बेलाबेला बाढीपहिरोले आवागमन अवरुद्ध हुन्छ । रारा राष्ट्रिय निकुञ्जभित्र डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिर्सोट र माझघट्ट होमस्टे छन् । पर्यटकको चाप हुने समयमा यिनमा बास पाउन सजिलो हुँदैन । बस्न असुविधाले छिटै फिर्न चाहनेका लागि पनि बाटो सजिलो छैन ।


निकुञ्जले रारा क्षेत्रमा पर्यटकबाट प्रवेश शुल्क लिने गरेको छ । आन्तरिकलाई प्रतिव्यक्ति सय, सार्क मुलुकका १५ सय र अन्य मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क छ । निकुञ्जले गत आव ३८ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कर्णाली प्रदेश सरकारले गत आवलाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गर्दै ५ लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो । पूर्वाधार विकास र अनुकूल वातावरण अभावमा उक्त घोषणाअनुरूप कार्यक्रम सफल हुन सकेन ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि रारा पुग्न दुई दिन लाग्छ । नाग्म–गमगढी सडक कालोपत्रे भइसकेको छैन । हवाइजहाजबाट सुर्खेत र नेपालगन्जको दूरी ४५ मिनेट मात्र भए पनि सेवा नियमित छैन । हवाइसेवा नहुँदा रारा घुम्न जाने पर्यटकका लागि स्थलमार्गको विकल्प हुँदैन । निकुञ्जका अनुसार निकै कम पर्यटक हवाइ मार्ग भएर राराको यात्रा गर्छन् ।


कर्णाली प्रदेश पर्यटन विकास समिति संयोजक राजु कार्की रारा आउने पर्यटकलाई यहाँबाट छायानाथ र शे–फोक्सुण्डोको हेलिकोप्टर प्याकेज गर्न सके राम्रो हुने बताउँछन् । ‘यसो गर्दा पर्यटकले सहजै दुई–तीन दिन बिताउन सक्ने हुन्छ,’ उनले भने, ‘आजकल त रारा आएको पर्यटक १/२ घण्टामै फर्कन्छन् । घुम्ने र मनोरञ्जन गर्ने ठाउँ नै छैन ।’ पर्यटकलाई लोभ्याउन नयाँ गन्तव्य देखाउनुका साथै सेवासुविधाको स्तर पनि बढाउनु जरुरी रहेको उनले बताए ।


रारा पुगेका पर्यटकका लागि पनि ताल हेर्नुबाहेक अन्य मनोरञ्जन गर्ने सुविधा छैनन् । पर्यटकलाई तालमा घुम्न कर्णाली प्रदेश सरकारले र निकुञ्जले २/२ वटा डुंगा उपलब्ध गराएका छन् । पुराना २ डुंगा पनि सञ्चालनमा छन् । विदेशी पर्यटकलाई भने ती डुंगा चढ्न प्रतिबन्ध छ । यो वर्ष हुम्ला भएर मानसरोवर कैलाश यात्रा गर्न जाने पर्यटकको संख्यामा पनि कमी आएको छ ।


जेठ तेस्रो सातादेखि आइतबारसम्ममा ५ हजार ५ सय २६ भारतीय तीर्थयात्री मानसरोवर जान हुम्ला पुगेका छन् । गत वर्ष यही समयमा यो संख्या करिब ७ हजार पुगेको नाम्खा गाउँपालिकाका राजस्व संकलक देजर लामाले बताए । २०७२ वैशाखको भूकम्पपछि केरुङ नाका बन्द हुँदा हुम्ला भएर मानसरोवर जाने भारतीय पर्यटकको चाप बढेको थियो । गत वर्ष केरुङ नाका खुलेपछि भने स्थलमार्गबाट जाँदा हुम्लामा भारतीय पर्यटकको संख्या घटेको व्यवसायीले बताएका छन् ।


होटेल मानसरोवरका सञ्चालक टेके रावतले यो वर्ष आफूले १ हजार २ सय १० जना भारतीय पर्यटकलाई सेवा दिएको बताए । ‘टुरिस्ट पोहोरभन्दा थोरै आए,’ उनले भने, ‘हाम्रो कमाइ हुने सिजन भनेकै मानसरोवर कैलाशयात्राको सिजन हो । यो वर्ष त व्यापार निकै घटयो ।’


केरूङ नाका बन्द भएर तीर्थयात्री हुम्ला आउन थालेपछि यहाँका व्यवसायीले होटलमा लगानी बढाएका थिए । यसैबीच यो वर्ष मानसरोवर यात्रामा गएका ५ जनाको लेक लागेर मृत्यु भएको छ । केरुङबाट गएका २ र हुम्लाबाट गएका ३ जनाको मृत्यु भएको राजस्व संकलक लामाले बताए ।

प्रकाशित : श्रावण १६, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?