कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सिंगापुरको ‘एनयूएच’ अस्पतालमा हुने

दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच)मा स्वास्थ्य परीक्षण हुने भएको छ । ओली शनिबार बेलुकी ९ बजेर ४५ मिनेटमा सिल्क एयरको फ्लाइटबाट जानेछन् । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे बिहीबार बस्ने मन्त्रिपरिष बैठकले औपचारिक निर्णय गर्नेछ । प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भए पनि उनी थप परीक्षणका लागि सिंगापुर जान लागेका हुन् । उनी करिब एक साता त्यहाँ बस्नेछन् । 

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सिंगापुरको ‘एनयूएच’ अस्पतालमा हुने

उनको गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण भएको थियो । उक्त परीक्षणपछि थप फलोअपका लागि निजी चिकित्सकहरुले सिंगापुर जान सुझाएका थिए ।

मिर्गौला प्रत्यारोपण गरेका ओली नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । स्रोतका अनुसार गत शुक्रबार सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको नियमित ल्याव परीक्षणसहित युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो । उनको रगतमा क्रेटिनाइनको मात्रा बढेको छ ।


चिकित्सकहरुका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । कहिलेकाही‌ं यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्य प्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा पिसाबमा प्रोटिन देखिए पनि गरिन्छ ।


मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपण गरेलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ । मिर्गौलाले राम्ररी काम गरेको छ कि छैन भनेर सुरुमा परीक्षण गरिन्छ । प्रधानमन्त्री ओलीको भने अहिले सुरुआती परीक्षण होइन । मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ । धेरै लामो समय भएपछि पनि त्यसको कार्यप्रणाली कस्तो छ भनेर बुझ्नका लागि बायोप्सी गरिने चिकित्सकहरुले बताएका छन् ।


प्रधानमन्त्री ओलीको हातमा ६ वर्षअघि हातमा संक्रमण भएको थियो । त्यसपछि निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्डमा गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा उपचार थाइल्यान्ड जाने गरेका थिए । गतवर्ष प्रधानमन्त्रीको शपथ लिनुभन्दा केही दिनअघि उनी बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेशलन अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रधानमन्त्री भएपछि उनी स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन् । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : श्रावण १६, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?