२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जो पहिरोसँगै बगेका थिए

संगीता तिमिल्सेना 

बाजुरा — बिहीबार राति घरपरिवारसँगै खाना खाएर सुतेका थिए बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीका १ सय १० वर्षीय जंगे चदाँरा । शुक्रबार बिहान एक्कासी जिल्ला अस्पताल बाजुराको बेडमा पुगे । टाउकोमा पट्टी बाँधिएको थियो । छाती हल्लाउन सक्दैनन् । घाँटी बांगाको बांगै । खुट्टा उचाल्न खोज्छन्, हल्लाउन सक्दैनन् ।

जो पहिरोसँगै बगेका थिए

जंगे अलि अलि सुन्छन् । घर माथिबाट पहिरो आयो रे । जंगेको घरको बगायो रे यो सुन्दा जंगेको शरीर झन् शिथिल हुन्छ । त्यसैमा उनको मानले नातिनी बुहारी र कलिली कोपिला जस्ती पनातिनी घरमै पुरिए रे । उनलाई थामिनसक्नु हुन्छ ।

हात हल्लाउँछन् । यो होइन भन्छन् । उनलाई पत्यार लाग्दैन कि पहिरो आएर एकैरातमा घररिवारको यस्तो अवस्था छ । जंगे चदाँरासँगै पहिरोमा अन्य ४ जना घाइते छन् । उनीहरु पनि जंगेको साथमा छैनन् । फेरि हात हल्लाउँदै भन्छन् । यो हुन सक्दैनन् । उनको मुखबाट बिस्तारै आवाज निस्किन्छ । स्वर सुक्छ । उनी बोल्न बन्द हुन्छन् ।

सय वर्ष नाघिसकेका जंगे भन्छन्, 'म बगे हुन्थ्यो नि ! बुहारीलाई किन यस्तो ? फेरि घर पनि बगायो रे !' हामी कहाँ बस्ने भन्दै शोकमा डुब्छन् । उनलाई एकतर्फ आफूलाई शारीरिक पीडा छ भने अर्कोतिर घर बगायो । बुहारी र नातिनि पनि मरे । जंगे बेडमा पल्टिए । उठाउँदा पनि उठेनन् ।


जंगेको साथमा उनका पल्लो घरका भाइ सिरे चदाँरा छन् । सिरे लेकमा बस्छन् । जंगेको घरको वरिपरि घर छैनन् एक्लै घर थियो । बिहीबार राति १ बजे सिरेको मोबाइलमा फोन आयो । उनी झल्यास्स ब्यूँझिए । फोन उठाउँछन् । जंगे दाइको घर बगायो रे बुहारी र नातिनी पुरिए रे । उनलाई पत्यार नै लाग्दैन । पोहोर साल पनि सिरेको कानमा यस्तै खबर आएको थियो जंगे दाइको घर बगायो । अहिले पनि यस्तै खबर ।

मैले पत्याइन तर पनि रातभरि निन्द्रा लागेन । जाउँ भने मूसलधारे पानी । मेघ गर्जेको थियो । ३ घण्टा छट्पटाएँ मात्र । बिहानको ४ बज्नेबित्तिकै लेकबाट हिँडे घर पुग्दा सबै मानिस जम्मा भएका थिए । रुवाबासी चलेको थियो । सबैलाई राम्रोसँग देख्न पाइएन । हामी हतार–हतारमा पाँचै जनालाई लिएर स्वास्थ्य केन्द्रमा आयौं । ४ जना सामान्य घाइते छन् । उनीहरुको गाउँपालिकाको सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो । 'दाइको अवस्था गम्भीर भएकाले मैले बोकेर जिल्ला अस्पताल मार्तडी ल्याएँ । अहिले उपचार हुँदैछ' भाइ सिरेले भने ।


लगातारको वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीमा पहिरोले घर भत्काउँदा आमा र छोरीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते छन् । बिहीबार राति खसेको पहिरोमा ३० वर्षीया आमा निरुता चदाँरा र छ वर्षीया छोरी किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?