खेतान समूहको जग्गा कब्जा प्रयास

नारायण शर्मा

(नवलपरासी) — पूर्वी नवलपरासीमा रहेको खेतान समूहको करिब ४० बिघा जग्गा स्थानीयले कब्जा गर्ने प्रयास गरेका छन् । औद्योगिक घराना खेतान समूहको गैंडाकोट नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा रहेको हिमालयन एग्रिकल्चर फर्म (वागवानी फर्म) रहेको जग्गा शुक्रबार र शनिबार स्थानीयले ट्र्याक्टर लगाएर जोताएका छन् । जग्गा जोत्नैकै हुने हल्ला चलाइएपछि उनीहरूले २१ वर्षअघि लगाइएका आँप र लिची फाँडेर आफूखुसी भागबन्डा गरेर जोताएका हुन् । 

खेतान समूहको जग्गा कब्जा प्रयास

‘सामन्तीको जग्गा हो, बाँडेर लिए हुन्छ भने अनि ट्र्याक्टर भाडामा ल्याएर जोतेका हौं तर प्रहरी लगाएर लखेटे,’ स्थानीय सुमन विकले भने । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोतभोग गर्न खोज्ने ५ दर्जनभन्दा बढीलाई तितरबितर पारेको थियो ।


‘जग्गा खनजोत गर्न र भागबन्डा गर्न आउनेलाई हटाइएको हो,’ पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोख्रेलले भने, ‘जग्गामा सुरक्षा दिइएको छ ।’ उनका अनुसार कसैले गैंडाकोटका मेयरले बस्नू भन्ने आदेश गरेको र कोहीले चन्द समूहले जोतभोग गर्नु भन्ने संकेत गरेको बताएका छन् । ‘हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


गैंडाकोटका मेयर छत्र पौडेलले जग्गा खनजोत गरेको जानकारी पाएर शुक्रबार आफूले स्थलगत निरीक्षण गरी कब्जा गर्न हुँदैन भनेर सम्झाएको बताए । जग्गा जोतिएको ठाउँमा शनिबार भेटिएका खेतान समूहका कर्मचारी विकास थापाले जग्गा कब्जा गर्न उक्साउनेलाई कारबाही गर्नुपर्ने बताए । ‘तारबार भत्काएर र रूख फाँडेर ठूलो क्षति गरेका छन्,’ उनले भने । तत्कालीन गोर्खा ब्रुअरीका सञ्चालक मोहनगोपाल खेतानले २०५१ सालमा स्थानीयबाट जग्गा खरिद गरेका थिए । ‘रोजगारी पाउने आसमा सस्तैमा जग्गा बिक्री गरेका थियौं,’ स्थानीय रामु दमैले भने । उनका अनुसार करिब ४० घरपरिवारले त्यति बेला खेतान समूहलाई जग्गा बेचेका थिए ।

प्रकाशित : श्रावण १८, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?