कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दैजी–जोगबुढा सडक : चार दशकदेखि बजेट सकेको सक्यै

कञ्चनपुरबाट ८२ किलोमिटरमा बैतडी जोड्ने सडक नबन्दा स्थानीय ३ सय किलोमिटर घुम्न बाध्य
डीआर पन्त

डडेलधुरा — ४० वर्षअघि दैजी–जोगबुढा सडकको ट्र्याक खोल्दा साँडीघाँटीका शंकर कामी पनि खटिएका थिए । यो सडक कञ्चनपुरको दैजीदेखि बैतडीको तल्लो स्वराडसम्म जोडिने उनले सुनेका थिए । त्यसयता कामीले सुदूरका दर्जनभन्दा बढी सडक खोल्न मजदुरी गरे । ती कालोपत्रेसमेत भइसके । दैजी–जोगबुढा सडक भने अझै पूरा भएको छैन । 

दैजी–जोगबुढा सडक : चार दशकदेखि बजेट सकेको सक्यै

‘तराईदेखि पहाड जोड्ने छोटो दूरीका रूपमा दैजी–जोगबुढा सडक निर्माण थालिएको हो,’ कामीले भने, ‘कैलालीबाट भीमदत्त राजमार्ग निर्माण सुरु भइसकेको थियो । यो सडकचाहिँ आधा ट्र्याक खुलेपछि पूरा हुन सकेन ।’ बझाङदेखि डडेलधुरा हुँदै तराई जोड्ने पैदल बाटोमा सर्भे गरेर पहिलो चरणमा दैजीदेखि डडेलधुरासम्म काम भएको उनले बताए ।

भीमदत्त राजमार्ग र दैजी–जोगबुढा सडक एक दशकको अन्तरालमा निर्माण सुरु भएको सडक विभागका तत्कालीन कर्मचारी रामचन्द्र अवस्थीले जानकारी दिए । ‘२०३६ सालमा काम थालिएको दैजी–जोगबुढा सडक पछि राजनीतिको सिकार भयो,’ उनले भने, ‘त्यतिबेला शक्तिमा रहेका खडकबहादुर सिंह र नैनबहादुर स्वाँरले यसलाई भन्दा अत्तरिया हुँदै डडेलधुरा–डोटी जोड्ने सडकलाई प्राथमिकता दिए ।’ अवस्थीका अनुसार लोकेन्द्रबहादुर चन्द पहिलोपटक प्रधानमन्त्री भएपछि पुनः दैजी–जोगबुढा सडक निर्माण सुरु भयो । तर कञ्चनपुरतर्फ ट्र्याक खुले पनि चुरे र चुरे पारि खुल्न १५ वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।

३१ किमिको उक्त खण्डमा दोस्रो पटक ०४९ सालमा काम सुरु भयो । त्यसअघि ०४६ सालमा प्रजातन्त्र आएपछि त्यहाँका ९ हजारभन्दा बढी सालका रूख कटानीको ठेक्का खुल्यो । सडकका नाममा पटकपटक वन फँडानी भयो तर सडक कहिल्यै बनेन ।

दैजीदेखि बैतडीको मेलौलीसम्म ८२ किमि छ । साबिक रूपाल गाविसका पूर्वअध्यक्ष नरबहादुर ठकुराठीले भने, ‘सडक नबन्दा अहिलेसम्म बैतडीका बासिन्दाले कञ्चनपुरदेखि झन्डै ३ सय किमि यात्रा गर्नुपरेको छ । अत्तरियाबाट डडेलधुरा भएर बैतडी पुग्नुपर्छ ।’ समयमा सडक बनेको भए तराईबाट डडेलधुरा, बैतडी, दार्चुला र बझाङसम्मको दूरी आधा कम हुने उनको भनाइ छ ।

पहिले नाम मात्रको ट्र्याक खोलिएकोमा ०४९ पछि मात्र अलिअलि काम भएको परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताए । ‘०४९ पछि सडकमा पटकपटक काम थालिए पनि प्रगति हुन सकेन,’ उनले भने, ‘धेरै ठूलो लगानी भएर पनि बन्न नसकेको सुदूरको यो सडक लापरबाहीको उदाहरण पनि हो ।’

सडक डिभिजन कार्यालय महेन्द्रनगर र कुलपातेका अनुसार दैजी–जोगबुढा सडकमा अहिलेसम्म ५० करोडभन्दा बढी लगानी भइसकेको छ । कहिले ५ करोड त कहिले १० करोडका ठेक्का लगाइए पनि सरकारी निकाय र निर्माण कम्पनीको लापरबाहीले स्तरोन्नति हुन सकेन । हरेक वर्षको बजेट चुरेमा पर्खाल लगाएरै सक्ने प्रवृत्ति छ ।

दुई वर्षअघि पनि जोगबुढादेखि चुरेसम्म र दैजीदेखि चुरेको लिपनासम्म कालोपत्रे गर्न ५३ करोडको ठेक्का लागेको थियो । काम भने अलिकति पनि भएको छैन । ‘सरकारी बजेट कसरी दुरुपयोग हुन्छ भन्ने उदाहरण खोज्न दैजी–जोगबुढा सडक हेर्नुपर्छ,’ स्थानीय धर्मसिंह मगरले भने, ‘गत वर्ष निर्माण भएको पर्खाल ३ वर्षसम्म नापेर सरकारी अधिकारी र निर्माण कम्पनीले बजेट दुरुपयोग गरेका धेरै उदाहरण भेट्टाउन सकिन्छ ।’ अहिले पनि दैजीदेखि चुरे फेदीसम्म कालोपत्रे गर्ने काममा व्यापक अनियमितता भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?