कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ भारतीयको नेपाली नागरिकता खारेज

दिनेश रेग्मी

काठमाडौँ — झूटो विवरण पेस गरी नेपाली नागरिकता लिएका ८ जना भारतीयको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । साउन १६ को मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरूको नेपाली नागरिकता खोसिएको जानकारी दिए । 

८ भारतीयको नेपाली नागरिकता खारेज

नेपाली नागरिकता लिने भारतीयमा अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोकी श्रीमती, वैवाहिक अंगीकृत), सोसिल महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो छन् । उनीहरू सबै भारतीय भएको र ७ जनाले धनुषा र १ जनाले महोत्तरीबाट नागरिकता लिएको गृह मन्त्रालयले बताएको छ ।


यसअघि पनि सरकारले विभिन्न समयमा झूटा विवरणका आधारमा नागरिकता लिएका भारतीयको नेपाली नागरिकताको प्रमाणपत्र खारेज गरेको थियो । ‘झुक्याएर वा झूटा विवरण पेस गरेर नागरिकता लिएको यो नौलो होइन,’ गृह स्रोतले भन्यो, ‘तत्कालको प्रमाणका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नागरिकताको प्रमाणपत्र दिन्छन्, पछि गलत ठहरिए खारेजी र कारबाही गर्छौं ।’


कर्मचारीको नयाँ तलबमान

मन्त्री बाँस्कोटाले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको नयाँ तलबमान तोकिएको जानकारी दिए । चालु आर्थिक वर्षदेखि राजपत्रांकित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनंकितहरूको २० प्रतिशत तलब बढेको छ । यसैअनुसार निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको पनि तलब वृद्धि भएको छ ।


मन्त्रिपरिषद्ले योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोष स्थापना नभएकाले उक्त कोष सञ्चालनको जिम्मेवारी कर्मचारी सञ्चय कोषलाई दिएको छ । सरकारले साउन १ देखि नियुक्त कर्मचारीको छुट्टै निवृत्तभरण कोष स्थापना गर्ने भनेको थियो । कोषमा सरकारका सबै सेवाका कर्मचारीको तलबबाट ७ प्रतिशत र सरकारले त्यति नै रकम थप गरी निवृत्तभरण कोषमा जम्मा गर्न थाल्नेछ ।


यातायात व्यवसायीले रकम सार्न पाउने

सरकारले यातायात व्यवसायीलाई यातायात समिति हुँदा उनीहरूले बैंकमा जम्मा गरेको रकम रूपान्तरित कम्पनीको खातामा सार्न दिने निर्णय पनि गरेको छ । सरकारले सामाजिक संघसंस्था ऐनविपरीत सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता रहेका यातायात समितिको बैंक खाताको रकम कम्पनीमा सार्न दिएको हो । ऐनमा सामाजिक संघसंस्था बन्द या खारेज हुँदा तिनको बैंक मौज्दात र अन्य सम्पत्ति स्वतः सरकारको हुने व्यवस्था छ । मुलुकभर करिब १६ सय यातायात समिति थिए ।


भिसा छुट र आर्थिक सहयोग

मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदान गर्न भिसा शुल्क छुट दिने निर्णय गरेको छ । ५ विद्यार्थी र ५ जना अनुसन्धातालाई शुल्कमा छुट दिइने मन्त्री बाँस्कोटाले बताए । यसैगरी नेपाल नोटरी पब्लिकलाई सरकारले १० लाख रुपैयाँ अनुदान, कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डारीलाई राहतस्वरूप मासिक २७ हजार र कुरुवाको व्यवस्था गर्ने भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागि सिंगापुर स्वीकृत भए पनि उपचार खर्च सरकारले नबेहोर्ने मन्त्री बाँस्कोटाले बताए । ‘उपचार खर्च स्वयं प्रधानमन्त्रीले बेहोर्नुहुन्छ’ उनले भने । टोलीका कर्मचारीको सबै खर्च र प्रधानमन्त्री एवं टोलीका सदस्यको टिकट खर्च भने सरकारले बेहोर्नेछ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण हुँदै छ ।


हिंसा छाडे वार्ता

हिंसा छाडे मात्र नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता गर्न सरकार तयार रहेको सञ्चारमन्त्री बाँस्कोटाले बताइका छन् । ‘हामी दाउपेचका लागि होइन, समाधानका निम्ति वार्ता गर्न तयार छौं,’ उनले भने, ‘हिंसा छोड्नुस्, लोकतन्त्रको बाटोमा आउनुस्, हामी वार्ता गर्न तयार छौं ।’

प्रकाशित : श्रावण २०, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?