१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतबाट दूध आयात गर्दै डीडीसी

चितवन र पोखराका डेरीहरूले भारतको बिहारबाट दूध ल्याउन थालिसके
प्रताप विष्ट

हेटौंडा — दुग्ध विकास संस्थान (डीडीसी) ले भारतबाट दूध खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । माग पूरा गर्न नसकेकाले भारतको पटनास्थित एक डेरीसँग करिब ३० हजार लिटर दूध आयात गर्न लागेको हो ।

भारतबाट दूध आयात गर्दै डीडीसी

संस्थानका अधिकारीहरू साताअघि सम्झौता गरी फर्किएका छन् । ‘अब केही दिनभित्रमा पटनाको डेरीबाट दूध आउँछ,’ हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादवले भने ।

दूध अभाव भएकाले संस्थानले भारतबाट आयात गर्न लागेको उनले जानकारी दिए । ‘भारतको पटनास्थित डेरीबाट ल्याएको दूध सिधै काठमाडौं लैजाने व्यवस्था गरिएको छ । सरकारले भारतबाट पाउडर दूध ल्याउन रोक लगाएपछि मुलुकमा दूधको अभाव छ,’ यादवले भने ।

दुग्ध विकास संस्थानले मात्र होइन चितवन र पोखराका निजी क्षेत्रका डेरी उद्योगले पनि भारतको विहारबवाट दूध आयात गर्न थालिसकेका छन् । सरकारले दूध आयात गर्न अनुमति दिएको हो । संस्थानले भारतबाट दूध खरिद गरी राजधानी काठमाडौंका उपभोक्ताहरूलाई बिक्री गर्ने जनाएको छ । निजी डेरी उद्योगहरूले कृषकहरूसँग सिधै दूध खरिद गरेकाले संस्थानसँग अभाव भएको पनि संस्थानको दाबी छ ।

सिजनमा दैनिक ४० हजार लिटर दूध संकलन हुने हेटौंडा दुग्ध वितरण आयोजनामा अहिले दैनिक ६ देखि ७ हजार लिटर संकलन भइरहेको छ । दैनिक माग करिब १२–१३ हजार लिटर छ । माग पूर्ति गर्न आयोजनाले दैनिक ७ हजार लिटर दूध विराटनगरबाट

ल्याउने गरेको हो । हेटौंडाको आयोजनाले कुनैबेला विराटनगरलाई पनि दूध बिक्री गर्थ्यो ।

बारा, रौतहट, सर्लाही र मकवानपुरबाट संकलित र विराटनगरबाट ल्याएको दूध हेटौंडा, वीरगन्ज, भरतपुरलगायतका बजारमा बिक्री गरिन्थ्यो । संकलित दूधबाट आयोजनाले दही, पनिर, लालमोहन र फ्रेस मिल्क तयार गरिरहेको छ ।

६/७ वर्षअघिसम्म आयोजनाले मध्य तराईबाट दैनिक ३५ हजार लिटर दूध संकलन गरेर काठमाडौंमा आपूर्ति गरेको थियो ।

अहिले बारा, रौतहट, सर्लाही, मकवानपुरबाट दैनिक करिब ६/७ हजार लिटर मात्रै दूध संकलन गरिरहेको छ । सहरी क्षेत्रमा टोलैपिच्छे खुलेका निजी डेरीले किसानसँग महँगोमा दूध खरिद गरी शुद्धीकरण नगरेरै बिक्री गर्न थालेपछि सरकारी आयोजनाको बजार साँघुरिँदै गएको छ । ‘चैतदेखि असोजसम्म दूध उत्पादनको हिसाबले ‘अफ सिजन’ हो,’ दुग्ध वितरण आयोजनाका प्रमुख यादवले भने, ‘कात्तिकदेखि फागुनसम्म पुनः दूध संकलन बढ्छ ।’

दुग्ध वितरण आयोजना हेटौंडाले बाराको सिमरा, पथलैया, पर्साको वीरगन्ज, चितवनको भरतपुर र नारायगढ तथा मकवानपुरको हेटौंडा, मनहरी, भीमफेदी, लोथरका उपभोक्तालाई दैनिक १० हजारदेखि १२ हजार लिटर दूध वितरण गरिरहेको छ । मध्यतराईका सर्लाही, रौतहट, बारा र मकवानपुरका १ सय ६० वटा दूध उत्पादक सहकारीमार्फत आयोजनाले दैनिक दूध खरिद गर्छन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?