२ सय स्थानीय तहमा पुगेन प्राविधिक शिक्षा

सुदीप कैनी

काठमाडौँ — दुई सय स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच अझै पुगेको छैन । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको थियो ।

लक्ष्य हासिल गर्न ६ महिनाभित्र नगरपालिका र गाउँपालिका गरी २ सय ६ स्थानीय तहमा प्राविधिक शिक्षासम्बन्धी शैक्षिक संस्था स्थापना भइसक्नुपर्नेछ । २७.३६ प्रतिशत स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार हुन नसकेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।


प्राविधिक तथा व्यावसायिक सीप विकास तथा तालिम, प्राविधिक तथा व्यावसायिक शिक्षा (माध्यमिक तह) र उच्चशिक्षामा प्राविधिक शिक्षा अध्ययन/अध्यापन हुन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र विश्वविद्यालय मातहतका शिक्षण संस्थाले प्राविधिक शिक्षा प्रदान गर्दै आएका छन् ।


७ सय ५३ स्थानीय तहमध्ये ५ सय ४७ मा मात्रै प्राविधिक एसएलसी, डिप्लोमा र प्राविधिक धार कक्षा (९–१२) पठनपाठन हुने गरेको छ । यसबाहेक उच्च शिक्षामा प्राविधिक शिक्षा पढाइ हुने विश्वविद्यालय र प्रतिष्ठान मातहत २ सय ८० वटा क्याम्पस छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकमा हरेक स्थानीय तहमा प्राविधिक शिक्षाका विद्यालय स्थापना गर्ने निर्णय गरेका थिए । बाँकी नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्न सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा २६ करोड छुट्याएको छ । सबैभन्दा धेरै प्रदेश २ का ४९ स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुगेको छैन । प्रदेश १ का ४५ र ३ का ३२ नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय खुल्न बाँकी छ ।


गण्डकी प्रदेशमा २६, प्रदेश ५ मा १७, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः १८ र १९ वटा स्थानीय तहमा प्राविधिकतर्फका शिक्षण संस्था छैनन् । तिनै तहलाई प्राथमिकता दिएर चालु आर्थिक वर्षमा शिक्षण संस्थाहरू विस्तार गरिने शिक्षा मन्त्रालय प्राविधिक शिक्षा महाशाखाका सहसचिव हरिप्रसाद लम्सालले जानकारी दिए । सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण धारको शिक्षामा जोड दिँदै आएको छ । उक्त लक्ष्यअनुसार प्राविधिक शिक्षालयको विस्तार भने हुन सकेको छैन ।


यस्ता शिक्षण संस्थाको संख्या १ हजार ३ सय १२ छ । सबैभन्दा धेरै कक्षा ११–१२ मा प्राविधिक धार सञ्चालित ४ सय ३४ विद्यालय छन् । निजी सम्बन्धनमा चलेका ४ सय २९ प्रमाणपत्र (डिप्लोमा) तहका छन् । प्राविधिक एसएलसीमा इन्जिनियरिङ, स्वास्थ्य, कृषि, पशुपालन र वन विधामा पढाइ हुन्छ । यसका अतिरिक्त डिप्लोमा तहमा होटल व्यवस्थापन र वन विज्ञानको समेत पढाइ हुन्छ ।


उच्च शिक्षामा विज्ञान प्रविधि, चिकित्साशास्त्र, वन विज्ञान, इन्जिनियरिङ, आयुर्वेद, पशु विज्ञान, पशु चिकित्सा, मत्स्यपालन र कृषि संकायको अध्यापन हुने गरेको छ । सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गरिसकेपछि गुणस्तर सुधारमा जोड दिने लम्सालले जानकारी दिए । ‘न्यूनतम पूर्वाधार पूरा गरेका स्थानीय तहलाई मात्र कक्षा चलाउन अनुमति दिने गरिएको छ,’ उनले भने, ‘यो वर्षभित्र सबैमा पुर्‍याउने गरी गृहकार्य गरिरहेका छौं ।’

प्रकाशित : श्रावण २०, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?