१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

थपिँदै ठूला बस, विद्युतीयका लागि रूट पर्मिट माग्ने बढे

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट प्रणाली हटाएसँगै मुलुकभर ठूला सवारीसाधन (बस) को संख्या बढेको छ । यातायात व्यवस्था विभागका अनुसार पुराना र नयाँ गरी ७१ वटा कम्पनीले मुलुकभर ठूला बस सञ्चालन गरेका छन् । तिनले धेरै यात्रु बोक्न सक्ने करिब ३ सयवटा बस भित्र्याएका छन् । 

थपिँदै ठूला बस, विद्युतीयका लागि रूट पर्मिट माग्ने बढे

यातायात समिति खारेज भएर व्यवसायीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुन थालेपछि ठूला सवारीसाधनको पञ्जीकरण (दर्ता) बढेको विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘समितिहरू कम्पनीमा दर्ता भएपछि यातायातमा पञ्जीकरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मास भेहिकलको संख्या बढेको छ ।’


उपत्यकामा ठूला बस सञ्चालन गर्ने कम्पनीको पञ्जीकरण तीव्र भइरहेको र त्यसमा विभागले सहजीकरण गरेको उनले बताए । रुटलगायतका कानुनी अडचन फुकाएर व्यवसायीलाई सहज बनाउने काम भइरहेको उनले जानकारी दिए ।उनका अनुसार निजी क्षेत्रका व्यवसायीले विद्युतीय बस सञ्चालनका लागि पनि रुट पर्मिट मागेका छन् ।


‘साझा यातायात प्रालिबाहेक अन्य कम्पनीले पनि विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट पर्मिटको निवेदन दिएका छन्,’ उनले भने, ‘चार्जिङ स्टेसनमा समस्या देखिएको छ, त्यो पनि अब समाधान होला ।’ चार्जिङ स्टेसनको अनुमति र दर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने भएकाले त्यसबारे केही भन्न नसकिने उनले बताए । ‘ऊर्जा मन्त्रालयले चार्जिङको दर तोक्छ, अनि मात्रै व्यवसायीले स्टेसन सञ्चालन गर्न पाउँछन्,’ उनले भने, ‘सम्भवतः त्यसबारे चाँडै निर्णय होला ।’


विशेषगरी उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि रुट पर्मिट मागिएको उनले बताए । करिब एक वर्षअघि यातायात व्यवस्था विभागका निर्देशक प्रेम सिंहको संयोजकत्वमा काठमाडौं महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि सदस्य रहेको वैज्ञानिक रुट अध्ययन समिति गठन गरिएको जानकारीसमेत महानिर्देशक दाहालले दिए ।


‘अब समितिको सिफारिसअनुसार रुट सञ्चालनमा ल्याउँछौं,’ उनले भने । यसअघि सडकको क्षमताभन्दा यातायात व्यवसायीको मागअनुसार अध्ययनबिनै रुट पर्मिट दिने गरिएको उल्लेख गर्दै उनले सूक्ष्म ढंगले विश्लेषण गरेर अनुमति दिइने बताए ।


हाल उपत्यकाका करिब २ सय छोटा–लामा रुटलाई ६६ वटामा सीमित गरिएको उनले बताए । समितिले यात्रुको चाप, सवारी संख्या, सहरी भौगोलिकता, सडकको दूरी, ट्राफिक चापलगायत अध्ययन गरिरहेको उल्लेख गर्दै उनले त्यसका आधारमा रुट पर्मिट दिइने बताए । समितिले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गर्नेछ ।


ठूला, मध्यम र साना सवारी चलाउने गरी क्रमशः प्राइमरी, सेकेन्डरी र टर्सरी गरी ३ वटा रुट विभाजन गर्न लागिएको उनले बताए । ‘अब चाँडै लागू गर्छौं,’ उनले भने । आठवटा प्राथमिक रुट पहिचान गरिएको विभागले जनाएको छ । त्यस्ता रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्ने दाहालले बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?