३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हेल्मेटमा लुकाएर भारततर्फ चाँदी तस्करी 

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षिय वीरेन्द्र महतोलाई सोमबार बिहान पक्राउ गरेको छ ।

हेल्मेटमा लुकाएर भारततर्फ चाँदी तस्करी 

मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको पैदल गस्तिले महतोलाई नेपाल भारत दशगजानजिकबाट बिहान नियंत्रणमा लिएको हो ।


सशस्त्र निरीक्षक शुभाषचन्द्र मैनालीकाअनुसार जाँचका क्रममा बीआर३२एल ०६८९ नम्बरको पल्सर मोटरसाईकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेटभित्रबाट चाँदीको पोका फेला परेको थियो । बरामद चाँदीको बजार मूल्य १० लाख बढी हुने सुनचाँदी व्यवसायी संघले जनाएको छ ।


नेपालमा भन्दा भारतमा चाँदी प्रति किलो ९ सयदेखि २ हजार रुपैयाँ बढीमा बिक्ने व्यवसायीले बताए । चाँदी बिक्रिवापत उताबाट प्राप्त हुने भारतीय रुपैयाँ नेपाली बजारमा सयकडा २ देखि ५ रुपैयाँसम्म बिक्रि हुन्छ । दोहरो मुनाफा हुने भएपछि सुनचाँदी तस्करी हुने गरेको संघले जनाएको छ ।


वीरेन्द्रले चाँदी भारतको दरभंगा पुर्‍याउने जिम्मा लिएको बयानमा खुलाएका छन् । यसअघि २ पटक गरी २५ केजी चाँदी भारत छिराएको उनले स्विकारेका छन् । दरभंगाका कपिल नामका सुनचाँदी कारोबारी तथा त्यहाँका ठूला पसलमा पुर्‍याउने गरेको उनले बताए ।


सशस्त्र निरीक्षक मैनालीकाअनुसार वीरेन्द्रको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकका एटिएम, भारतीय पहिचान पत्र र भारतीय सवारी लाईसेन्ससमेत बरामद भएको छ । वीरेन्द्रलाई चाँदीसहित जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहको छ ।


गत वर्षको साउन २० गते पनि मटिहानीस्थित सशस्त्र प्रहरीले धनुषा मुसहरनीया कै २० वर्षीय नागेन्द्र पासवानलाई १४ लाख मूल्यबराबरको २० किलो चाँदीसहित दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : श्रावण २०, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?