२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

३ सचिवको अवकाश, एकले पाए नियुक्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — निजामती प्रशासनका वरिष्ठतम् तीन सचिवमध्ये अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्माले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । अर्का वरिष्ठ सचिव विष्णु लम्सालले भने अनिवार्य अवकाश पाउनुअघि राजनीतिक नियुक्ति पाएका छन् ।

३ सचिवको अवकाश, एकले पाए नियुक्ति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव कार्की र खानेपानी मन्त्रालयका सचिव शर्माले विशिष्ट श्रेणीको पाँचवर्षे पदावधि पूरा गरी मंगलबारदेखि लागू हुने गरी अनिवार्य अवकाश पाउँदै छन् ।

कार्की र शर्मासँगै सचिवमा बढुवा भएका लम्साललाई भने मन्त्रिपरिषद्ले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशक नियुक्त गरेको छ । लम्सालले सचिवको पाँचवर्षे पदावधि सकिएर अनिवार्य अवकाश पाउनु चार दिनअघि उनलाई विशिष्ट श्रेणीको अर्को पदमा नियुक्त गरिएको हो । लम्साल ६० वर्ष पूरा नभएम्म वरिष्ठ अध्ययन निर्देशकको पदमा बहाल रहनेछन् ।

कार्की, शर्मा र लम्सालपछिका अर्का वरिष्ठ सचिव कृष्ण देवकोटाले समेत बिहीबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव देवकोटाले ५८ वर्ष पूरा गरी उमेरका कारण अवकाश पाउन लागेका हुन् । साउनभित्रै विज्ञान तथा प्रविधि सचिव कृष्णराज बीसीले पनि ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाउँदै छन् ।

कार्की, शर्मा, लम्साल र देवकोटाले अवकाश पाएपछि गृहसचिव प्रेमकुमार राई र उनीसँगै बढुवा भएकाहरू सबभन्दा वरिष्ठ हुनेछन् । राईसँगै बढुवा भएका सचिवमा अर्थ मन्त्रालयका राजन खनाल, नेपाल ट्रस्टका गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव राईलाई मुख्यसचिव बनाउन चाहेको स्रोतले उल्लेख गरेको छ । वरिष्ठ चारै जनाले अवकाश पाएपछि राईसहितका चारमध्ये एकलाई मुख्यसचिव बनाउन सकिनेछ । त्यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारले व्यवस्थापन गर्नुपर्ने स्रोतको भनाइ छ । रेग्मीको पदावधि अझै एक वर्षभन्दा बढी बाँकी छ ।

सरकारले मुख्यसचिवलाई हटाउने कानुनी व्यवस्थासमेत छैन । त्यही कारण सरकारले रेग्मीलाई मनाएर कुनै आकर्षक मुलुकमा राजदूत बनाएर या राजनीतिक नियुक्ति दिएर पठाएमा मात्र राईलाई मुख्यसचिवमा बढुवा गर्ने बाटो खुल्नेछ । राई मुख्यसचिवमा बढुवा भए पनि लामो समय पदमा रहन पाउने छैनन् ।

उनी आगामी पुससम्म मात्रै मुख्यसचिव हुनेछन् । उनले ५८ वर्ष उमेर पूरा गरी पुसमा अवकाश पाउनेछन् । रेग्मी पूरै अवधि पदमा रहे भने राई मुख्यसचिव हुन पाउने छैनन् । रेग्मीभन्दा अघि राई, खनाल, ठाकुर र आचार्यले अनिवार्य अवकाश पाइसक्नेछन् । त्यतिबेला परराष्ट्र सचिव शंकर बैरागी सबभन्दा वरिष्ठका नाताले मुख्यसचिवका दाबेदार हुनेछन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?