कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जहाँ छुट्टै सरकार चल्छ !

हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकास्थित मैकोटमा साधारण काम गर्ने मजदुरले खानपानसहित दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने भएका छन् । सुक्खा काम गरेमा दैनिक ५ सय रुपैयाँ ज्याला निर्धारण गरिएको छ । त्यसभन्दा कडा काम गर्नेले खानपानसहित ५ सय रुपैयाँ पाउनेछन् । 

जहाँ छुट्टै सरकार चल्छ !

मैकोटमा खाद्यान्न खरिदबिक्रीको पनि मूल्य निर्धारण गरिएको छ । प्रतिमाना मकै २५, गहुँ ४५ र जौ २५ रुपैयाँका दरले बिक्री गर्नुपर्ने नियम बनाइएको छ । लोकल कुखुरा प्रतिकिलो १ हजार २ सय, राँगा, भैंसी र बंगुरको मासु प्रतिकिलो ५ सय, खसी, बोका र भेडाको मासु प्रतिकिलो १ हजार रुपैयाँमा किनबेच गर्नुपर्नेछ ।


पुथा उत्तरगंगा–१ र २ वडाको मैकोटमा जुवातास खेलेमा जरिवाना गर्नेदेखि विकास निर्माण के कसरी गर्ने भन्ने निर्णय पनि गाउँलेले गरेका छन् । यस्तो निर्णयमा गाउँपालिका र वडाको कुनै भूमिका छैन । यहाँ गाउँलेको दुईदिने बर्खे अधिवेशनले हिउँदेसम्मका लागि हरेक क्षेत्रको दर कायम गरेको हो । अधिवेशनले विकास निर्माण र शान्ति सुरक्षा कायम गराउन विभिन्न २३ वटा निर्णय पारित गरेको छ ।


वडा र गाउँपालिकासभा सम्पन्न भएको झन्डै दुई सातापछि गाउँलेको छुट्टै बर्खे अधिवेशन सञ्चालन भएको थियो । मैकोटमा बर्खे र हिउँदे अधिवेशन आयोजना गर्ने पुरानै चलन हो । उनीहरूले यो चलनलाई निरन्तरता दिँदै आएका छन् । यस पटकको अधिवेशनले परम्परादेखि चल्दै आएका रीतिरिवाज, चालचलनलाई निरन्तरता र परिमार्जन गर्ने निर्णय गरेको छ ।


गाउँमा कसैको मृत्यु भएपछि मलामी जाँदा वा बसी लाग्न जाँदा बाहिरबाट जाँडरक्सी लिन नपाइने तथा गाउँमा कुकुर छाडा छाडेपछि जसले पनि मार्न पाउने निर्णय अधिवेशनबाट गराइएको छ । ‘यहाँ बर्खे र हिउँदे अधिवेशन सञ्चालन हुन्छन् । हामीले भर्खरै बर्खे सकेका छौं,’ स्थानीय अमरधन पुन मगरले भने, ‘पुस्तौंदेखि चल्दै आएको रीतिथितिअनुसार अधिवेशन गरिएको हो ।’


पुथाउत्तरगंगा १ र २ का वडाध्यक्षको उपस्थितिमा अधिवेशन भएको हो । स्थानीय तहको निर्वाचन नहुँदा गाउँका जान्नेमान्ने, बुद्धिजीवीको उपस्थितिमा अधिवेशन गर्ने गरिएको पुनले बताए । वडामा जनप्रतिनिधि आइसकेपछि उहाँहरूको उपस्थितिमा हिउँदे तथा बर्खे अधिवेशन भइरहेको पुनले बताए । वडासभा सञ्चालन हुँदा कार्यालयले केही घण्टामा योजना तर्जुमा गरेका थिए । गाउँपालिकाले २ दिनमा १४ वडाका लागि तय नीति कार्यक्रम तथा बजेट पास गरेको थियो ।


लगत्तै मैकोटीले दुई दिन बर्खे अधिवेशन चलाएका हुन् । अधिवेशनका निर्णय टोलटोलमा टाँसिएको छ । स्थानीय सरकारले गरेका निर्णयको कमैलाई थाहा छ । तर गाउँले अधिवेशनको निर्णय भने सबैलाई जानकारी भइसकेको छ ।


‘गाउँसभाले के पास गरेको छ भन्ने कुरा वडा कार्यालय र अलिअलि चासो राख्नेलाई मात्रै थाहा होला,’ स्थानीय विकास पुन मगरले भने, ‘मैकोटीको बर्खे अधिवेशनको निर्णय सबैलाई थाहा भइसक्यो ।’ अधिवेशन सकिएलगत्तै निर्णय कार्यान्वयन गर्नुपर्ने भएकाले हरेक टोलमा निर्णय टाँस गरिनुका साथै कटुवालमार्फत पनि निर्णय हरेक व्यक्तिकहाँ पुर्‍याइने गरेको उनले बताए । वडा कार्यालयमै बर्खे अधिवेशन सञ्चालन भएको थियो । गाउँपालिका तथा वडामा भएको निर्णयका आधारमा अधिवेशनले निर्णय गरेको वडा नम्बर १ का अध्यक्ष मकरसिं गुरुङले बताए ।


‘यो चलन पुरानो हो, त्यसैले गाउँलेको छुट्टै अधिवेशन भएको हो,’ उनले भने, ‘यसबाट हामीलाई पनि कामकाजमा ठूलो सहयोग पुग्छ ।’ अधिवेशनको निर्णयअनुसार नै हरेक टोलमा गठित सरसफाइ, बिजुली, विकास निर्माण समितिले दण्ड जरिवाना उठाउँछन् र धारा, बाटोघाटो तथा विद्यालयको भौतिक संरचना निर्माण तथा निजी स्रोतका शिक्षकको तलब भत्तामा खर्च गर्ने गरेका छन् । अरू सरकारभन्दा मैकोटीको सरकार अलग्गै भएको स्थानीय वीरमान पुन मगरले बताए । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारभन्दा हाम्रा लागि सबभन्दा नजिकको सरकार यही हो,’ उनले भने, ‘हामी उहिल्यैदेखि यसरी नै चल्दै आएका छौं ।’

प्रकाशित : श्रावण २१, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?