कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वनस्पतिको बीउ बैंक

गोविन्द पोखरेल

काठमाडौँ — गोदावरीमा बीउ बैंक (सिड बैंक) स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । वनस्पति विभागको सहयोगमा राष्ट्रिय वनस्पति उद्यानले वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न र प्रकृतिबाट वनस्पतिहरू लोप हुन नदिन सिड बैंक बनाउँदै छ । 

वनस्पतिको बीउ बैंक

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि कार्यालयले खाद्य सुरक्षा र रैथाने बाली संरक्षण गर्न सिड बैंक स्थापना गरेका छन् । मुलुकका वनस्पति संरक्षणका लागि भने पहिलोपटक सिड बैंक स्थापना गर्न लागिएको हो । त्यसका लागि अहिले पूर्वाधार निर्माणका काम धमाधम भइरहेको उद्यान प्रमुख दीपक लामिछानेले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा सिड बैंकका लागि चाहिने तापक्रम नियन्त्रण यन्त्र जडान गरिएको छ । चालु आवमा आद्रता नियन्त्रण गर्ने यन्त्र जडान हुँदै छ । आद्रता र तापक्रम यन्त्र जडान भएपछि सिड बैंक पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

उद्यान कार्यालय परिसरमा विभिन्न ४ सय प्रजातिका वनस्पतिका बीउ सुरक्षित गरिएको छ । खास भौगोलिक क्षेत्रमा पाइने प्रजाति (इन्डेमिक) प्रजातिका वनस्पतिका बीउलाई अस्थायी रूपमा फ्रिजमा राखेर संरक्षण गरिँदै छ ।

के हो सिड बैंक ?

सिड बैंक एक प्रकारको पर स्थानीय संरक्षण विधि (एक्स सीटु कन्जर्भेसन) हो । वनस्पतिहरूको आनुवंशिक विविधता संरक्षण गर्न यो प्रभावकारी हुन्छ । यसले दुर्लभ, लोपोन्मुख, रैथाने र बहुउपयोगी वनस्पतिको संरक्षणमा सघाउँछ ।

वनस्पतिको जिन संरक्षण र मानवीय कारणबाट वनस्पति लोप सक्ने खतराबाट जोगिन सिड बैंकको आवश्यक हुने केन्द्रीय वनस्पति विज्ञान क्याम्पसका उपप्राध्यापक नारायण घिमिरेले बताए । जलवायु परिवर्तनका कारण वनस्पतिको प्राकृतिक बासस्थान मासिने खतरा हुने र त्यसबाट बच्न पनि सिड बैंक चाहिने उनको भनाइ छ । वनस्पतिहरूका बीउ संरक्षण गरी राखिने भएकाले वनस्पति/बिरुवा लोप भए पनि पुनरुत्पादन गर्न यसले सघाउने उनको भनाइ छ ।

रैथाने वनस्पतिमा रोग प्रतिरोधात्मक क्षमता पनि हुने र उनीहरूमा खडेरीसँग लड्ने क्षमता पनि भएकाले सिड बैंक आवश्यक रहने त्रिवि केन्द्रीय वातवरण विज्ञानका उपप्राध्यापक एवं जैविक विविधता विज्ञ मनकुमार धमलाले बताए । जलवायु परिवर्तनका कारण वनस्पति लोप हुने खतरबाट बच्न पनि सिड बैंक उपयोगी हुने उनको भनाइ छ । यो आनुवंशिक विविधता तथा आनुवंशिकी क्षेत्रका अनुसन्धातालाई पनि उपयोगी मानिन्छ ।

यसरी संकलन गरिँदै छ बीउ

उद्यानले बीउ संकलन थालिसकेको छ । पहिलो चरणमा उद्यान परिसरमा रहेका विभिन्न प्रजातिका वनस्पतिको बीउ संकलन गरेर अस्थायी रूपमा राखिएको छ । दोस्रो चरणअन्तर्गत नेपालका रैथाने र लोप हुन सक्ने वनस्पतिका बीउ संकलन गरिनेछ । यसका लागि उद्यानले तीन–तीन महिनामा कर्मचारी खटाउनेछ ।

कर्मचारीले मुलुकका विभिन्न क्षेत्रबाट वनस्पतिका बीउ संकलन गर्ने कार्यालय प्रमुख लामिछानेले जानकारी दिए । कृषि क्षेत्रमा पनि रैथाने बाली जोगाउन बीउ सुरक्षित राख्न पनि सिड बैंक स्थापना गरिन्छ । यसलाई बीउहरूको ‘लाइब्रेरी’ का रूपमा पनि लिइन्छ ।

यसरी सुरक्षित राखिन्छ बीउ

संकलित बीउलाई सुक्खा बनाइन्छ । चिसो अवस्थामै राख्दा त्यसमा फंगस (ढुसी) लाग्ने भएकाले सुक्खा बनाउने गरिएको लामिछानेले बताए । यसरी संकलित बीउ ५० देखि सय वर्षसम्म सुरक्षित राख्न सकिने उनको भनाइ छ ।

भण्डारण कक्षको तापक्रम माइनस १८ देखि २० डिग्री सेल्सियस र ३५ देखि ४५ प्रतिशत सापेक्षिक आद्रता (रिलेटिभ ह्युमिडिटी) हुँदा बीउ धेरै वर्षसम्म जोगाउन सकिन्छ । साथै ४ देखि १० डिग्री सेल्सियस तापक्रम र आद्रता ३५ देखि ४५ प्रतिशत कायम भए २० वर्षसम्म बीउ संरक्षण गर्न सकिने उनी बताउँछन् । उद्यानले निर्माण गरिरहेको सिड बैंक भने मध्यम किसिमको हो ।

यसले बीउलाई निश्चित वातावरण दिन्छ । र, लामो समयसम्म प्राकृतिक अवस्थामा राख्न सघाउँछ । यस्ता बीउको पुनरुत्पादन क्षमता जस्ताको तस्तै रहने विज्ञहरूको भनाइ छ । उद्यानमा ४ सय प्रजातिका वनस्पतिका बीउ राखिएको छ । तिनलाई फ्रिजमा निश्चित तापक्रममा राखेर संरक्षण गरिएको छ ।

सिड बैंकमार्फत कम्तीमा १ हजार प्रजातिका वनस्पतिका बीउ राख्ने उद्यानको लक्ष्य छ । त्यसमा शोभनीय (अर्नामेन्टल), रैथाने, लोप हुन सक्ने, लोपोन्मुख, खतरामा रहेका, अति महत्त्वपूर्ण वनस्पति र जडीबुटीका बीउ रहनेछन् । उद्यानले पहिलो चरणमा लोप हुने अवस्थामा पुगेका र नेपालमा मात्र पाइने वनस्पतिका बीउ संकलन गरिरहेको छ ।

सिड बैंकको पूर्वाधारअन्तर्गत अहिले नयाँ भवनमा ‘टेम्प्रेचर कन्ट्रोल’ का काम भइरहेको छ । तापक्रम र सापेक्षित आर्द्रता देखाउने थर्मो (हाइग्रोमिटर जडान गर्ने काम पनि सकिएको छ । भण्डारण कक्षको वातावरणअनुकूल बनेपछि यहाँ स्थायी रूपमा बीउ राखिने लामिछानेले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?