१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चन्द समूहका केन्द्रीय सदस्यसहित ३ पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका-६, मुरुबाट सोही गाउँपालिका-२,का ४८ वर्षीय सो पार्टीका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा पक्राउ परेका हुन् ।

यसैगरी सोही पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पूर्वका संयोजक आठबीसकोट नगरपालिका-११, का १८ वर्षीय हरि पुन र सोही संगठनको रुकुम पश्चिम जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणि गाउँपालिका-२, का १९ वर्षीय प्रेम प्रशान्त बोहरालाई पनि प्रहरीले पक्रेको छ ।


केही दिन यता रुकुम पश्चिम, सल्यान र रोल्पाको सिमाना र त्यस आसपासका क्षेत्रमा चन्द समूहका गतिविधि बढेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।


मंगलबार राती १० बजे जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको डिएसपी खड्काले बताए । प्रतिबन्धित नेकपाका गतिविधि बढेको भन्ने गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको डिएसपी खड्काले जानकारी दिए । चन्द समूहका नेकपाका केन्द्रीयस्तरका नेता जिल्लामा पक्राउ परेको यो पहिलो घटना हो । यस अघि प्रहरीले क्षेत्रीय ब्युरो सदस्य सम्मलाई पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेका पुन र बोहरा यस अघि पनि पक्राउ परेर छुटेका थिए ।

प्रकाशित : श्रावण २२, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?