पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग महत्वपूर्ण : मन्त्री मगर 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यसअघि खानेपानीमन्त्री बीना मगरले सो प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन् ।

पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग महत्वपूर्ण : मन्त्री मगर 

प्रस्तावका सम्बन्धमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले जनताका मौलिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकारको जिम्मेवारी भएको बताइन् । उनले सङ्घीय सरकार आफ्नो अधिकारअन्तर्गत रहेर जिम्मेवार पूरा गर्न दृढ रहेको उल्लेख गर्दै पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।


मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा सरकारले स्पीडमा काम गर्ने पनि बताइन् । सीएमसी कम्पनीका कारण केही समय काम अवरुद्ध भए पनि आयोजनामा रहेका समस्या केलाएर छिटो काम गरिने आश्वासन दिइन् । विगतका मन्त्रीले मेलम्चीप्रति उदासिनता देखाएको भन्दै आफूले त्यसलाई चिर्ने दाबी गरिन् ।


सीमएसी कम्पनी टाट पल्टिनुमा आफू र नेपाल सरकारको कुनै भूमिका नभएको भन्दै उनले उक्त कम्पनीले नेपाल बाहेकका देशहरुमा पनि आयोजना अलपत्र पार्ने गरेको उल्लेख गरिन् ।


बैठकमा ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६’ पारित गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव राखेका थिए । उक्त विषय सभामुख कृष्णबहादुर महराले कार्यसूचीबाट हटाइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २३ गते १ बजे बस्नेछ ।

प्रकाशित : श्रावण २२, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?