कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैजनाथपुर क्षेत्रीय रंगशालामा अनियमितता, दुई फिट खाल्डो खन्न २६ लाख !

विनु तिम्सिना

(विराटनगर) — विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला । रंगशालाको बीचमा सानो पोखरी । छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य । खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन ।

बैजनाथपुर क्षेत्रीय रंगशालामा अनियमितता, दुई फिट खाल्डो खन्न २६ लाख !

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको क्रिकेट प्रतियोगिता गराउने पिचको दृश्य हो यो ।


बैजनाथपुर रंगशाालामा क्रिकेटको पिच निर्माण गर्न मन्त्रालयले ४३ लाख बजेट छुट्याएको थियो । उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेट पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो । समितिले क्रिकेट पिच निर्माण गरिसकेको बिल भर्पाइ पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ । समितिले भुक्तानी लिइसकेको भए पनि रंगशालामा क्रिकेट पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम भएको छैन । आर्थिक वर्ष सकिनलाग्दा खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । समितिले पिच बनाउन फाउन्डेशन निर्माणको सामान्य कामबाहेक अन्य काम नगरे पनि रकम भुक्तानी लिएर अनियमितता गरेको प्रस्ट हुन्छ ।

मन्त्रालयले विराटनगर १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो । त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो । पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले खेलकुदको बजेट कार्यान्वयन गर्ने कार्यालय नभएको भन्दै पिच निर्माणको रकम जिल्ला स्वास्थ्य कार्यालयमा निकासा पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको हो । उपभोक्ता समितिमा राजेश पोखरेल सचिव, अजिता बराल कोषाध्यक्ष तथा सदस्यमा मोहन भण्डारी, रीता न्यौपाने, सन्जु सापकोटा, अरुण सुराना, अधिराज रेग्मी छन् । स्वास्थ्य कार्यालय र उपभोक्ता समितिबीच जेठ २० मा सम्झौता भई काम अघि बढेको थियो ।


उपभोक्ता समितिले २८ लाख ६२ हजार ३ सय ६१ रुपैयाँ भुक्तानी लिएको स्वास्थ्य कार्यालयका प्रशासन शाखाका अधिकृत हेमुलाल गौतमले जानकारी दिए । समितिले कन्टेन्जेन्सी तथा उपभोक्ता सहभागिता रकम कट्टा गरेर २६ लाख ९४ हजार रुपियाँ भुक्तानी लिएको देखिन्छ ।


उपभोक्ता समितिले साइड क्लियर शीर्षकमा १ लाख ७ हजार, एक्जाभेसन शीर्षकमा ९६ हजार ५ सय, अर्थ ब्याक फिलिङ इन क्रिकेट शीर्षकमा १८ लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएको छ । मैदानमा भने सोलिङबाहेक कुनै काम भएको देखिँदैन ।


साढे २ फिट गहिरो खाल्डो खनेर त्यसलाई हेभी रोलरले थिच्ने लगायतको काम गरेको बताउँदै उपभोक्ता समितिका अध्यक्ष नवीन घिमिरेले वर्षातका कारण चाहेजस्तो काम गर्न नसकेको बताए । पिच निर्माणका लागि रकम भुक्तानी लिइसकेको भए पनि भदौबाट पुनः काम गर्ने उनले बताए ।


अहिले पनि करिब २ फिट खाल्डो पुर्नै बाँकी भए पनि सोलिङ शीर्षकमा उपभोक्ता समितिले ७ लाख ४५ हजार रुपैयाँ भुक्तानी लिएको छ । विविधतर्फ विद्युत तार विस्तारको काम गरेको भन्दै ५० हजार रुपैयाँ भुक्तानी लिएको भए पनि त्यो काम भइसकेको छैन ।


समितिले माटो पुर्ने र पिच बनाउने काम गरेको भन्दै रकम भुक्तानी लिइसकेको छ तर पिचका लागि मैदानमा माटो नै लगिएको छैन । ‘हामीलाई कालो, रातो र पहेँलो माटोको जरुरी हुन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘कालो र पहेँलो माटो सुनसरीको बर्जु तालबाट ल्याउनका लागि तयारी गरिएको भए पनि भारी वर्षाका कारण ल्याउन सकेनौं ।’ माटो नै खरिद नगरेको समितिले नक्कली बिल भर्पाइ बुझाएर जिल्ला स्वास्थ्य कार्यालयबाट रकम भुक्तानी लिएको देखिन्छ ।

प्रकाशित : श्रावण २२, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?