अबको चार महिनामा गौतमबुद्ध विमानस्थलको काम सकिन्छ : पर्यटनमन्त्री भट्टराई 

रासस

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

अबको चार महिनामा गौतमबुद्ध विमानस्थलको काम सकिन्छ : पर्यटनमन्त्री भट्टराई 

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बिहीबार निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।


आगामी डिसेम्बर महिनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने, “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।


सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष सुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताए ।


विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उनले भने । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए ।


नियुक्त भएपछि पहिलोपटक रुपन्देही आएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए ।

प्रकाशित : श्रावण २३, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?