सत्य निरुपण आयोग छिटो गठन गर्न सांसद शर्माको माग
काठमाडौँ — सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले सत्य निरुपण आयोग गठनमा हेलचेक्र्याइँ भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सत्य निरुपण आयोग गठन नहुँदा पीडितहरुले न्याय नपाइरहेको र उनीहरुले उठाउने जिज्ञासाका जवाफ दिने अवस्थासमेत नरहेको भन्दै छिटो आयोग गठन गर्न माग गरे ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी नियुक्ति सिफारिस समिति गठन भए पनि त्यसले कामलाई पूर्णता दिन सकेको छैन । गत चैतमा सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी नियुक्ति सिफारिस समिति गठन गरेको थियो ।
आयोग गठन नहुँदासम्म द्वन्द्वकालका पीडितहरुले न्याय नपाउने र यस विषयमा मेलमिलाप गराउने काम अधुरो रहने उनले बताए ।
आयोगले यो विषय नटुंग्याएसम्म शान्तिप्रक्रिया पूरा नहुने नेता शर्माको भनाइ थियो ।
प्रकाशित : श्रावण २३, २०७६ १५:३१