कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सरकारी जग्गामा नेकपा कार्यालयबारे कांग्रेसको टिप्पणी- 'नैतिकतालाई थप लज्जित नबनाइयोस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारी जग्गाको भोगचलनको नीति, नियमविपरीत नेकपाले केन्द्रीय कार्यालय राखेकोमा आपत्ति जनाउँदै तत्काल बाहिरिन आग्रह गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता विश्वप्रकाश शर्माले नीति, नियम र नैतिकताविपरीत सरकारी जग्गामा नेकपाको कार्यालय रहेको समाचारले कांग्रेसलाई अचम्भित र दुःखित तुल्याएको बताए ।

सरकारी जग्गामा नेकपा कार्यालयबारे कांग्रेसको टिप्पणी- 'नैतिकतालाई थप लज्जित नबनाइयोस्'

'सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति, नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ', उनले भने, 'हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।'


सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचार मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । उक्त समाचारपछि संसद्‌देखि विभिन्न सार्वजनिक ठाउँमा आलोचना भइरहेको छ ।


नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेसप्रतिको दृष्टिकोण सम्बन्धमा पनि प्रवक्ता शर्माले कडा टिप्पणी गरेका छन् । 'दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोष माथि केवल दया मात्र' प्रवक्ता शर्माद्नारा जारी विज्ञप्तिमा छ ।


कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वर्द्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले दाबी गरे ।






प्रकाशित : श्रावण २३, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?