२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्यटनमन्त्री भन्छन्, ‘निजगढ विमानस्थललाई विश्वकै सानदार बनाउँछु,’

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ४० अर्ब ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) को सुधारलाई प्राथमिकता दिएका छन् । पदभार सम्हालेको आठौं दिन बुधबार उनले पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

पर्यटनमन्त्री भन्छन्, ‘निजगढ विमानस्थललाई विश्वकै सानदार बनाउँछु,’

यसले निगम सुधारका लागि विस्तृत अध्ययन गरी भदौ २२ सम्म मन्त्री भट्टराईलाई प्रतिवेदन बुझाउनुपर्नेछ । ‘यतिबेला सबभन्दा हट केक नेवानि हो,’ भट्टराईले सञ्चारकर्मीसँग भने, ‘मैले पदभार ग्रहण गरेकै दिन साँझ ‘वाह १ नेपाल एयरलाइन्स बनाउँछु भनेको थिएँ । त्यो गर्नकै निम्ति आएको हुँ ।’ एक सातामा सर्वाधिक बैठक र छलफल नेपाल एयरलाइन्सकै बारेमा भएको उनले बताए । ‘यी सात दिन सबभन्दा धेरै निगम र निगमसम्बद्ध मान्छेसँग मिटिङ गरेँ । यसको भेन्टिलेसन कहीँ न कहीँबाट खोल्नैपर्छ । कहाँबाट खोल्न सकिन्छ भनेरै खोजिरहेको छु ।’ कार्यदलले निगम सुधारका लागि हालसम्मका सबै प्रतिवेदनको अध्ययन र विश्लेषण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता सहसचिव घनश्याम उपाध्यायले बताए । यससँगै निगमको हालको वित्तीय अवस्थाको पनि अध्ययन गर्नुपर्नेछ । ‘निगमको कानुनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय र व्यावसायिक क्षमतामा रहेका समस्याको पहिचान र विश्लेषण पनि गर्नुपर्ने कार्यदललाई टीओआर दिइएको छ,’ उनले भने ।


पर्यटन मन्त्रालयका तर्फबाट निगम सञ्चालक समितिमा सदस्य रहेका सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य सचिव तोकिएको कार्यदल सदस्यमा लेखाविज्ञका रूपमा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिमप्रसाद पौडेल र पाइलट सुधीरशमशेर राईलाई सदस्य तोकिएको छ । कार्यदलले एकमहिने अध्ययन गर्दैगर्दा मन्त्रीले निगममा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका कार्यकारी अध्यक्ष मदन खरेलसँग व्यावसायिक योजना मागेका छन् । ‘जहाज किन ग्राउन्डेड गरिएका हुन् ? सबै उडाउन भनेको छु,’ मन्त्री भट्टराईले भने, ‘व्यवस्थापन सुधार्न र विमान पूर्ण रूपमा चलाउन भनेको छु ।’ मन्त्री भट्टराईले निगमको वाइडबडीबाट भदौ १२ देखि भनिएको जापान उडान निश्चित भइसकेको बताए । जापानको ओसाकापछि कोरिया उडान थालिने उनको भनाइ छ ।


यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवासमेत गर्दै आएको निगमलाई पार्किङ–वेबाट टर्मिनल भवनसम्म ओसार्न प्रयोग हुने पुराना सट्टल बस पनि फेर्न मन्त्रीले भनेका छन् । ‘संसारमै सबैभन्दा महँगो भाडादर भएको विमानस्थलमध्ये हाम्रो पनि पर्छ, अनि थोत्रा बसमा यात्रु ओसार्ने ?’ मन्त्रीले भने, ‘थोत्रा बस थन्क्याउनुहोस् । आधुनिक बस ल्याउनुहोस् भनेको छु ।’


मन्त्री भट्टराईले निजगढमा बनाइने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विश्वमै सानदार बनाउने दाबी गरेका छन् । ‘निजगढ बहुप्रतीक्षित हो । २४ वर्षदेखि यसको चर्चा भयो तर काम भएन,’ उनले भने, ‘सन् २०१९ भित्रै यसको शिलान्यासको लक्ष्यका साथ अघि बढछौं । निजगढ विमानस्थललाई सानदार बनाउँछु ।’ उनले निजगढको विकल्प नखोजिने भने ।


काठमाडौंबाट फास्ट ट्र्याक बनेपछि एक घण्टामा पुगिने भनिएको निजगढस्थित सुकुम्बासी बस्तीलाई मुआब्जा दिएर वा अन्यत्र सारेर चाँडै निर्माण थालिने मन्त्री भट्टराईले बताए । रूख कटानबारे सञ्चारमाध्यममा आएका तथ्यांकको खण्डन गर्दै मन्त्रीले त्यहाँ कति रूख काटिने भन्नेबारे अन्तिम डाटा नै ननिस्किएको दाबी गरे । यसबारे सर्भेपछि मात्रै जानकारी पाइने उनको भनाइ छ । वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेरै नयाँ रूख रोपिने उनले जानकारी दिए ।


यसैबीच उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७३ प्रतिशत काम सकिएको बताएका छन् । यसलाई डिसेम्बरसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जनाए । सञ्चालन मोडालिटीबारे भने यकिन निर्णयमा सरकार पुगिनसकेको उनको भनाइ थियो । पोखरामा निर्माणाधीन अर्को क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि ४५ प्रतिशत सकिएको भट्टराईले बताए ।


प्रकाशित : श्रावण २३, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?