कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री जोशीको मुद्दा हेर्दाहेर्दैमा

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले अघि बढाउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान अधिकृत नियुक्त गरेको पत्र हराएपछि मुद्दा पटक-पटक सरेको थियो ।

भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री जोशीको मुद्दा हेर्दाहेर्दैमा

अख्तियारले कारण र आधारसहित ‘मिसिल नभेटिएको’ जवाफ लेखेको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको इजलासले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश दिनुका साथै अख्तियारका सचिवलाई पनि तारिखमा बस्न नपर्ने आदेश गरेको हो । फाइल नभेटिएको भन्दै सर्वोच्चले अख्तियारका सचिवलाई प्रतिवेदनसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।


सर्वोच्चले २०७१ साल भदौ २९ गतेको आदेशअनुसार गोविन्दराज जोशीमाथि भ्रष्टाचार मुद्दा दायर गर्दाको अवस्थाको मिसिल मगाएको थियो । अख्तियारले २०६० साल वैशाख २५ गते गरेको निर्णयसहित सक्कल मिसिल वा रजिष्टर पठाउन भनी सर्वोच्च अदालतले अख्तियारमा पठाएको थियो । बिहीबारको आदेशपछि सर्वोच्चले आगामी कार्तिक १७ गतेदेखि जोशीको मुद्दाको नियमित सुनुवाइ गर्नेछ ।


अख्तियारले २०६० साल पुस २८ गते जोशी लगायत उनका नातेदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । आरोपपत्रमा जोशीको सम्पत्ति लुकाएको भनी उनकी पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला वासुदेव पन्त, अनि वासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।


हदम्यादभित्र मुद्दा पेस हुन नसकेको कारण देखाई २०६३ साल कार्तिक ३० गते विशेष अदालतले आरोपपत्र खारेज हुने भनी विशेष अदालतले फैसला गर्‍यो । विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको दाबीसहित अख्तियारले २०६४ साल असोज १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो । सर्वोच्चले २०६८ साल पुस २४ गते उक्त मुद्दामाथि सुनुवाइ गर्दै हदम्यादबाट आरोपपत्र खारेज गरेको मिलेन भनी फेरि विशेष अदालतबाट मुद्दाको प्रारम्भिक सुनुवाइ गर्न आदेश दियो । आदेशअनुसार, २०६९ साल वैशाख ६ गते विशेष अदालतमा फेरि त्यही मुद्दा दोस्रोपटक दायर भयो ।


विशेष अदालतले दोस्रोपटकको सुनुवाइमा भने जोशीलाई भ्रष्टाचारी ठहर गर्दै उनका नातेदारको नाममा रहेको सम्पत्तिसमेत जफत हुने आदेश गर्‍यो । अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साल साउन १० गते जोशीले गैरकानुनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो । उनीमाथि डेढ वर्षको कैद सजाय हुने फैसलासमेत भयो ।


विशेष अदालतको फैसलाविरुद्ध जोशी र उनका नातेदारले २०६९ साल फागुन ६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरे । सात वर्षको अवधिमा उक्त मुद्दा सर्वोच्च अदालतमा ४० पटक तारेख तोकिएको छ भने ३२ पटक पेसी चढेको थियो ।


प्रकाशित : श्रावण २३, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?