कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टप्पुमा ४४ गाइगोरु मृत फेला 

कान्तिपुर संवाददाता

(सुनसरी) — सप्तकोसी नदीको मूल भंगालापारि पर्ने श्रीलंका टप्पुको चरन क्षेत्रमा बिहीबार २८ गाई र १६ गोरु मरेको फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने उक्त क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।

बस्तीसमेत रहेको उक्त क्षेत्रमा के कारणले चौपाया मरेका हुन् भनेर यकिन हुन सकेको छैन । मरेका चौपायाका नाक, मुख, मलद्वार, आँखाबाट रक्तस्राव भएको देखिएको इनरुवाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका डा. मनोजकुमार महतोले बताए । ‘मरेका गाईगोरुको अवस्था हेर्दा कडा प्रकारको कुनै सरुवा रोग लागेको हुन सक्ने सम्भावना देखियो,’ उनले भने, ‘मान्छेमा पनि सर्न सक्ने रोग हो भने सचेत हुन आवश्यक छ ।’ दुई महिनाअघि पनि सोही क्षेत्रमा २६ वटा गाईवस्तु रक्तस्राव भएर मरेका थिए । कुनै खास लक्षण नदेखाई चौपाया एक्कासि मर्ने रोगबारे अनुसन्धान जरुरी भएको उनले बताए । उक्त क्षेत्रमा चौपाया जोगाउन चरन क्षेत्र व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘रोग सार्ने जीवाणु चरन क्षेत्रमा रहिरहने भएकाले त्यता गाईवस्तु चराउनु हुन्न । रोग लागेर मरेका गाईवस्तुलाई उचित व्यवस्थापन गर्नुपर्छ ।’


कोसी टप्पुको मध्यवर्ती क्षेत्रमा सुनसरी, उदयपुर, सप्तरी र भारतीय सीमावर्ती बस्तीका बासिन्दाले आफ्ना चौपाया छाडा छाड्ने र केही वर्षपछि लैजाने गरेका छन् । गाईवस्तु धेरै संख्यामा मरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी ज्ञानेन्द्र फुयाल र केन्द्रबाट डा. महतोसहितको पशुचिकित्सक टोली अनुसन्धानका लागि टप्पु पुगेको थियो । करिब एक किमि क्षेत्र आसपास चौपाया मरेको पाइएपछि अनुसन्धानका लागि रगतको नमुना लिइएको डीएसपी फुयालले बताए ।


प्रकाशित : श्रावण २३, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?