१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपालमा हवाई इन्धन दोब्बर महँगो

वायुसेवा कम्पनीको गुनासोपछि अन्तर्राष्ट्रिय बजारकै मूल्यमा उपलब्ध गराउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव लगिँदै
सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ । आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको छ । 

नेपालमा हवाई इन्धन दोब्बर महँगो

नेपालमा हवाईसेवा सञ्चालन गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्सले यहाँ हवाई इन्धन अन्तर्राष्ट्रिय बजारको तुलनामा दोब्बर महँगो भएको गुनासो गरेपछि मन्त्रालयले सस्तोमा दिलाउन पहल थालेको हो ।


मन्त्रालयले भदौ पहिलो साता प्रधानमन्त्रीको अध्यक्षतामा हुने ४६ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक (एनड×्याक) मा हवाई इन्धनको मूल्य घटाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । ‘मन्त्रालयले यो विषय यसपटकको एनड्याकमा लैजाने निर्णय गरेको छ,’ पर्यटन सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग भने । बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले यसबारे निर्णय लिएको हो ।


वायुसेवा सञ्चालन गर्दा कुल लागतको ३० प्रतिशत हवाई इन्धनमा खर्च हुन्छ । ‘विश्वव्यापी रूपमा सार्वजनिक हवाई यातायातमा सरिक रहने वायुसेवा कम्पनीहरूबीच तीव्र प्रतिस्प्रर्धा गर्नुपर्ने भएकाले व्यावसायिक रूपमा दरिलो बनाउन सरकारले यस्ता संस्थालाई छिमेकी मुलुक वा अन्तर्राष्ट्रिय बजारमा रहेको मूल्यबमोजिम हवाई इन्धन उपलब्ध गराउने व्यवस्था हुनुपर्ने,’ पर्यटनमन्त्री योगेश भट्टराईले अध्यक्षता गरेको बैठकको निर्णयमा भनिएको छ । पर्यटन सचिव सापकोटाले यो निर्णय पारित भए स्वदेशी/विदेशी एयरलाइन्सलाई समान दरमा हवाई इन्धन उपलब्ध गराइने बताए ।

हाल विदेशी एयरलाइन्ससँग निगमले प्रतिकिलोलिटर (१ हजार लिटर) हवाई इन्धनको १ हजार ५० अमेरिकी डलर (१ लाख १८ हजार ५ सय ५० रुपैयाँ) लिन्छ । उनीहरूले निगमले तोकेको मूल्य भारतलगायत अन्य मुलुकको दाँजोमा दोब्बर हाराहारी रहेको भन्दै मन्त्रालयलाई गुनासो राख्दै आएका छन् । भारतमा प्रतिकिलोलिटर ७ सय २० अमेरिकी डलर पर्छ । ‘संसारभर हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५ सय ८३ अमेरिकी डलर हाराहारी चलिरहेको छ,’ विश्वभरका ३ सय हाराहारी गन्तव्यमा उडान भर्ने एक विदेशी एयरलाइन्सका नेपाल प्रमुखले भने, ‘नेपालमा भने आयल निगमले अन्यत्रको व्यापार घाटा सन्तुलन गर्न हामीलाई दोब्बर भाउमा इन्धन बिक्री गर्छ । यसमा कुनै व्यावसायिक तर्क छैन । यो खुला लुट हो ।’ उनले इन्धन महँगो भएकै कारण नेपालको पर्यटन व्यवसायमा असर परेको बताए ।


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि नेपालको हवाई भाडा विश्वमै महँगो हुँदै गइरहेको भन्दै लिखित रूपमै मूल्य घटाउन माग गर्दै आएको छ । ‘निगमले काठमाडौंमा इन्धन महँगो पर्ने भएकाले भारत, मलेसिया, दुबई, कतारबाटै इन्धन खरिद गरिरहेको छ,’ निगमका एक निर्देशकले भने, ‘उताबाट फर्किंदा यात्रु र कार्गो कम हुँदा हामीले धेरै इन्धन खरिद गरेरै ल्याउने गरेका छौं ।’ निगमले भारत, मलेसिया, दुबई, कतारलगायत एयरलाइन्ससँग हवाई इन्धनकै कारण प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको जनाउँदै आएको छ । ‘भारतमा नेपालको दाँजोमा आधा सस्तो भाउमा इन्धन किन्ने एयरइन्डिया, इन्डिगोसँग हामी कसरी प्रतिस्पर्धा गर्न सक्छौं ?,’ ती निर्देशकले भने । निगमले अघिल्लो वर्ष १० अर्ब हाराहारी आम्दानी गरेको थियो, जसमा हवाई इन्धनमा मात्रै २ अर्ब ४४ करोड खर्च गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?