३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्वराजाबारे दाहालको अभिव्यक्ति आपत्तिजनक : थापा

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् ।

पूर्वराजाबारे दाहालको अभिव्यक्ति आपत्तिजनक : थापा

केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्मविपरीत र अधिनायकवादको घोतक’ भएको तर्क गरे । ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने, ‘यो हतास र असुरक्षित मनस्थितिको उपज रहेको मैले बुझेको छु ।’ रामेछापको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले राजालाई धेरै बकबक नगर्न चेतावनी दिँदै राजसंस्थाको वकालत गर्नेलाई ‘दास’ को संज्ञा दिएका थिए ।


नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे । २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने थापाले जानकारी दिए ।


वरिष्ठ नेता दिपक बोहराले हिन्दुराष्ट्र कायम गर्दै राजालाई कुनै न कुनै रुपमा स्पेस दिनुपर्ने पक्षमा आफू रहेको भन्दै जनता आफ्नो एजेण्डाको पक्षमा रहेको दाबी गरे । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस कम्युनिष्टसँग जनता निरास भइरहेको तर्क गर्दै प्रतिपक्षले समेत भूमिका निर्वाह गर्न नसकेको माहोल आफूले उपयोग गर्नुपर्ने तर्क गरे ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता छ । पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् । केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७ सय ५३ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ ।


प्रकाशित : श्रावण २४, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?