१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डेंगु नियन्त्रणमा चुनौती थपिँदै

अतुल मिश्र

काठमाडौँ — पछिल्लो पटक धरानलाई मात्रै डेंगु प्रभावित क्षेत्र मानेर संक्रमण दर रोक्न कार्यक्रम सञ्चालन भइरहेका बेला संघीय राजधानी काठमाडौंमा पनि बिरामी भेटिएको छ । काठमाडौंमा एक महिलामा डेंगु देखिएको हो ।

डेंगु नियन्त्रणमा चुनौती थपिँदै

गत वैशाखदेखि शुक्रबारसम्ममा ४२ जिल्लाबाट ३ हजार ४ सय २५ वटा डेंगुको प्रयोगशाला प्रमाणित केस रेकर्ड भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए । लामखुट्टेको टोकाइबाट फैलने डेंगुको प्रकोप कात्तिक, मंसिरसम्म जारी रहन सक्ने सम्भावना उनले व्यक्त गरे ।


मुलुकका विभिन्न जिल्लामा सन् २०१६ मा १ हजार ५ सय २९, २०१७ मा २ हजार १ सय १२ र सन् २०१८ मा ८ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो । सरकारी तथ्यांकअनुसार यो रोगले सन् २०१० मा ५, सन् २०१५ मा १, सन् २०१६ मा २, सन् २०१७ मा ४, सन् २०१८ मा ३ जनाको मृत्यु भएको थियो । यो वर्ष हालसम्म एक जनाको मात्रै मृत्यु भए पनि धेरैतिर संक्रमण देखिनुले नियन्त्रणमा चुनौती छ ।


टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनका अनुसार काठमाडौं बाहिरै नगएकी एक महिला विगत ५ दिनदेखि अस्पतालमा डेंगुको उपचार गराइरहेकी छन् । करिब तीन साताअघि स्वयम्भूका एक जनामा समेत डेंगु देखिएको थियो ।


शुक्रबारसम्म अन्य जिल्लाबाहेक सुनसरीमा ३ हजार २५, मकवानपुरमा ८३, रूपन्देहीमा ५५, चितवनमा २३, मोरङमा २१, कास्कीमा २१, नवलपरासीमा ११ वटा प्रयोगशाला प्रमाणित केस देखिएको छ । वर्षायामपछि देशभरिमै डेंगुका बिरामी अझ बढ्न सक्ने सम्भावना रहेको विज्ञहरू औंल्याउँछन् ।


डेंगु फैलाउने एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस गरी दुवै प्रकारको लामखुट्टे पाइएका छन् । डेंगुको प्रकोप बढ्नुमा मनसुन छिटो आउनुले संक्रमण फैलाउने लामखुट्टे बढे ।


जिल्लामा सचेतना र नियन्त्रणका कार्यक्रमलाई बजेट पर्याप्त भएन । ‘यसपटक मनसुन छिटो र सँगै मुलुक संघीयतामा गएपछि कसको अधिकार के हुने, कसले के गर्ने आदिमा स्वास्थ्य संस्थाबीच अन्योल देखियो,’ भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलले भने, ‘स्थानीय तहमा बजेट हाल्दा कनिका छरे जस्तो भयो ।’ स्वास्थ्य मन्त्रालयले दक्ष जनशक्तिलाई काम गर्न सक्ने अवस्थामा राख्न नसक्नुले पनि नियन्त्रणका प्रभावकारी कार्यक्रम नै हुन नपाएको स्थिति छ ।


मान्छेबाट मान्छेमा डेंगु सर्दैन । संक्रमितहरू उपचारपछि निको हुन्छन् । लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्नुपर्ने डा.पुन बताउँछन् । रोगीलाई टोकेका लामखुट्टेले स्वस्थ व्यक्तिमा डेंगु सार्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार डेंगुका लागि कुनै विशिष्ट प्रकारको उपचार छैन । तर छिटो पत्ता लाग्दा उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।


डेंगुको पहिलो रिपोर्टेड केस मुलुकमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो भने यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको हो । यो वर्ष डेंगुको संक्रमण पहाड र तराईका गरी ४२ जिल्लामा देखिएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?