कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरभित्रै जिप छिरेपछि...

दिप्ती सिलवाल

साइकलचोक, पर्वत — कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकलचोकका बासिन्दा सधैंजस्तै बजारको मुख्य चोकमा गफिइरहेका थिए । हरेक दिनजसो सानातिना घटना भइरहने कटुवाचौपारीमा तिनै घटनाका विषय चिया गफमा मसला बन्थे ।

घरभित्रै जिप छिरेपछि...

गफिइरहेका स्थानीयको बीचमा एक्कासी ठूलो आवाज सुनियो । ‘आवाज ०७२ को भुइँचालोले घर भत्किएजस्तै थियो,’ स्थानीय मधु पौडेलले भने, ‘म हरेक दिन पसलको बाहिरपट्टि हुन्थें । आज बाँच्न लेखेको रैछ । वारिपट्टि थिएँ ।’ साइकलचोक मुख्य बजारको बीचमा ग३च ४३ नम्बरको महिन्द्रा जिप घरभित्रै छिर्दा भित्र बसिरहेकी सीता लम्साल बेहोस भइन् । तत्काल अस्पताल पुर्‍याइएकी उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिपका कारण अरू ठूलो मानवीय क्षति भने हुन पाएन ।


बजारमा लहरै लागेका अस्थायी छाप्राभित्र एउटा सटरभित्र जिप छिर्दा चारवटा छाप्रामा क्षति पुगेको छ । क्षति नजिकैका मधु पौडेलको स्टेसनरी, सम्झना परियारको सिलाइकटाइ, दीपा कँडेलको फलफूल तथा किराना पसलको छानो भत्किएको छ । लम्सालको पसलभित्रै छिरेको जिपले पसलभित्रका सरसामान नष्ट गरेको छ ।


स्थानीय ढाकाराम गौतम (सन्देश) ले चलाएको जिप अनियन्त्रित भई पसलभित्र छिरेको हो । चन्द्रतारा पोल्ट्री फर्मका सञ्चालक गौतम सिकारु भएको र चालक हुँदाहुँदै आफैंले चलाउनु गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ । ‘यत्रो बस्ती भएको ठाउँमा सिक्नु नै महामूर्खता हो,’ वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले भने, ‘लाइसेन्स नभएकालाई सवारी चलाउन कडाइँ गर्नुपर्छ ।’


स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिहान करिब आठ बजे जिप लिएर साइकलचोक पुग्दा चालकले नै हाँकेका थिए । प्रत्यक्षदर्शी एवं सुवेदी होटलकी सञ्चालक राधा सुवेदीका अनुसार खाजा खाएपछि गौतम आफैंले जिप चलाएका थिए । अघिल्तिर रोकिराखेको अर्को जिप छलेर अगाडि बढ्न खोज्दा एक्कासि पसलभित्र छिरेको गौतमले बताए । ‘मैले चलाएर अगाडि बढ्न खोज्दै थिएँ,’ उनले भने, ‘मोड्नै सकिनँ । एक्कासि भित्र छिर्‍यो ।’ गौतम नेकपाका जिल्ला नेतासमेत हुन् । उनले भूलवश भएको गल्ती स्वीकार्दै घाइतेको उपचार र क्षतिपूर्ति दिने बताए ।


दोबिल्ला–फलेबास सडकखण्डको साइकलचोक बजारमा २ वर्षअघि सडक कालोपत्रे भएको थियो । त्यसअघि हिलो र धुलोले बसिसाध्य थिएन । सडक कालोपत्रेपछि चालकले निकै तीव्र गतिमा सवारी हाँक्ने गर्दा बेलाबेला दुर्घटना हुने गरेको छ । ‘दुई साताअघि बसमा बाइक ठोक्कियो,’ स्थानीय दीपा कँडेलले भनिन्, ‘उतिबेला बाहिरको चालक भएर उल्टै बसचालकलाई कुटियो । अहिले यत्रो क्षति हुँदा पनि कोही बोल्दैनन् ।’ साइकलचोक आसपासको बस्तीमा बालबालिका र बिहान–बेलुकाको समयमा स्कुले केटाकेटीसमेत हिंडडुल गर्ने भएकोले सवारी गति कम गर्न दबाब दिनुपर्ने बताएका छन् । ‘ट्राफिकले सबैतिर कडाइँ गर्छ,’ मधु पौडेलले भने, ‘यो बाटोमा कहिल्यै देखिँदैन । स्पीडमा कुदाउनेलाई कारबाही गर्नुपर्छ ।’


घटनास्थलमा पुगेका ट्राफिक प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण हो । सिकारुले चलाएर घटना भएको देखिन्छ,’ उनले भने, ‘चालकको लाइसेन्स नभएको बुझिएको छ । वास्तविकता छानबिन हुँदै छ ।’

प्रकाशित : श्रावण २५, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?