१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिशूली दुर्घटना : मृतकको संख्या ९ पुग्यो, २० भन्दा बढी बेपत्ता

हरिहरसिंह राठौर

धादिङ — बेनीघाट रोराङ–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । २० भन्दा बढी यात्रु हराइरहेका छन् । फेला परेका शवमध्ये ८ जनाको सनाखत भएको छ । 

त्रिशूली दुर्घटना : मृतकको संख्या ९ पुग्यो, २० भन्दा बढी बेपत्ता

भारतीय नागरिक अजय दास, विजय कुर्मी तथा बेपत्ता कन्डक्टर गोविन्द भनिने ऋषि उप्रेतीको शव शुक्रबारै पहिचान भएको थियो । कृष्णभीरनेर फेला परेका दुई शव मलंगवा–१ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी ३५ वर्षीया श्रीमती निमाको भएको आफन्तले पहिचान गरेका छन् ।


उप्रेतीको शव गोरखातर्फको किनारमा भेटिएपछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले पहिचान गरेका थिए । शुक्रबार देवघाट–जुगेडीमा फेला परेका ६ शवमध्ये ५ को सनाखत भइसकेको छ । एकको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । दुर्घटनामा बेपत्ता परिवारका आफन्त शुक्रबारबाटै आउने क्रम जारी छ । सनाखत भएका ८ वटा शव शनिबार आफन्तको जिम्मा लगाइएको छ ।


सर्लाहीको मलंगवाबाट काठमाडौं हिँडेको सृष्टि डिलक्स ना६ख ७४६९ को बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक बैदवारका अनुसार दुर्घटनामा तीन जनाको शव घटनास्थलमा र अन्य ६ को चितवन, नारायणगढ, देवघाट, मुग्लिनलगायत नदी किनारमा भेटिएका थिए ।


केही यात्रु पौडी खेलेर र केही भीरमा अडिएर बाँचेका थिए । घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक, परिचालक र कन्डक्टर सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक बैदवारले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?