मृत चौपायामा एन्थ्रेक्सको जीवाणु भेटियो, अर्नामा सर्न सक्ने खतरा

प्रदीप मेन्याङ्बो

सुनसरी — कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका चौपायाहरुमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि लोपोन्मुख मानिएको अर्नामा पनि सर्न सक्ने खतरा बढेर गएको छ । गत बिहीबार श्रीलंका टप्पुमा मृत फेला परेका करिब चार दर्जन गाईगोरुका रगतको नमूना परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु फेला परेपछि अर्ना लगायत आरक्ष क्षेत्रका जंगली जनावरहरुमा पनि सर्ने खतरा बढेर गएको हो ।

मृत चौपायामा एन्थ्रेक्सको जीवाणु भेटियो, अर्नामा सर्न सक्ने खतरा

बराहक्षेत्र नगरपालिका ९ र ६ मा ती चौपायाहरु मृत फेला परेका थिए । यसको संक्रमणले मरेका श्रीलंका टप्पुका चौपायाहरुका नाक, कान, आँखा, मुख, मलद्वारबाट रक्तश्राव भएको देखिएको थियो ।


एन्थ्रेक्स विरुद्धको भ्याक्सिन लगाउन ढिला गरे आरक्षमा रहेका अर्नासहित अन्य वन्यजन्तुहरुलाई बचाउन नसकिने विज्ञहरुले बताएका छन् । सुनसरीको इनरुवास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा.मनोजकुमार महतोले एन्थ्रेक्सको ‘स्वाइल बर्न डिजिज’ गराउने जीवाणु फेला परेको बताए । उनले भने,‘एन्थ्रेक्सको जीवाणु हावा, पानी, माटो र चौपाया चरिचरण गरेका क्षेत्रबाट अन्य चौपाया र मानिसमा समेत सहजै सर्न सक्छ ।’ उनले यो जीवाणुबाट चौपाया बचाउनका लागि आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी रहेको बताए ।


उनले यसबारे सम्बन्धित सबै निकायहरुलाई जानकारी दिइसकेको बताउँदै एन्थ्रेक्स विरुद्धको भ्याक्सिन तत्काल पठाउन माग गरिएको बताए । उनले यो उत्पत्तिमूलक रोग ‘जेनेटिक डिजिज’ भएकाले यसको जीवाणु पशुबाट पशु र मानिसमा समेत सर्न सक्ने भएकाले भ्याक्सिन लगाएर सावधानी अपनाउनु पर्ने बताए ।


एन्थ्रेक्सको जीवाणु आरक्षमा एक्कासि कसरी आएको भन्ने विषय अनुसन्धानको विषय भएको उनले बताए । पशु विज्ञहरुका अनुसार एन्थ्रेक्सको जीवाणु माटोमा कम्तीमा २० वर्षसम्म बाँच्न सक्छ ।


आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जीवाणु नियन्त्रण गर्न र आरक्षका जीवजन्तुमा एन्थ्रेक्स विरुद्धको खोप लगाउन चुनौतीपूर्ण रहेकाले आवश्यकता अनुरूप दक्ष जनशक्ति परिचालन गर्ने तयारी भइरहेको बताए । आइतबार दिउँसो पुनः स्थलगत अवलोकन गर्न पुगेका उनले भने, ‘चारदिन यता अरू चौपाया मृत फेला परेको देखिएको छैन । थप अनुन्सन्धान गर्दैछौँ । एन्थ्रेक्सको जीवाणु मार्नका लागि चरन क्षेत्रमा डढेलो लगाउने, फर्मालिन औषधी र चुना छर्ने काम गर्ने या अरू के विकल्प हुनसक्छ समन्वय गर्दै छौँ ।’


आरक्षमा ४ सय ५० वटा अर्ना रहेको उनले बताए । तर आरक्षमा छाडा छाडिएका गाईवस्तु र अर्ध जंगली चौपायाको संख्या करिब १० हजार छन् ।

के हो एन्थ्रेक्स र कसरी सर्छ ?

एन्थ्रेक्स प्राण घातक जीवाणु हो । यसलाई पड्के पनि भनिन्छ । विशेषगरी घाँस खाने जीवजन्तुको रोग भए पनि तिनै जीवजन्तुबाट मानिसकमा पनि सहजै सर्छ । यसको जीवाणु घाँसको माध्यमबाट शरीरमा प्रवेश गरेपछि रगतको माध्यमहुदै शरीरभरि फैलिने गर्छ । शरीरमा फैएिको १२ देखि ४८ घण्टाभित्र संक्रमितको मृत्यु हुन्छ । एन्थ्रेक्सको संक्रमणपछि विना लक्षण जनावरमा उच्च ज्वरो आउने र हृदयघात हुने र एक्कासि मृत्यु हुने डा. महतोले बताए ।


उनले भने, ‘पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुख, कान र मलद्वारबाट रगत निस्किने गर्छ ।’ एन्थ्रेक्सविरुद्ध प्रतिजैविक खोप लगाउनु एकमात्र विकल्प रहेको छ ।

पशु चिकित्सकका अनुसार झारपात वा घाँसको तल्लो भागसम्म खाने पशु तथा जनावरमा जीवाणुको संक्रमण चाडै फैलिने सम्भावना प्रबल रहन्छ । यसको जीवाणु संक्रमणबाट मरेका जनावर छुँदा, नजिकैबाट श्वास प्रश्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र संक्रमित क्षेत्रको सागपात तथा फलफुल तरकारी राम्ररी नपखाली खादा मानिसको शरीरमा सर्न सक्ने विज्ञहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्ः

पाल्पाका केही क्षेत्रमा चाैपायामा फैलिएको ‘एन्थ्रेक्स’ विरुद्ध खोप अभियान

प्रकाशित : श्रावण २६, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?