कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाविरुद्ध संस्थापनइतर गोलबन्द बन्दै

संस्थापन पक्षमा देउवा निर्विकल्प छन् भने इतरपक्ष आन्तरिक मुद्दामा सँगै भए पनि नेतृत्वको विवाद छ ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइराला संसद्‌मा मात्रै होइन, पार्टीकै केन्द्रीय कार्यसमितिको बैठकमा पनि बोल्दैनन् । गएको संसदीय निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्न ०७५ चैतमा बसेको बैठकमा एक पेजको लिखित मन्तव्य राखेयता उनको विचार बैठकमा खासै आएको छैन ।

देउवाविरुद्ध संस्थापनइतर गोलबन्द बन्दै

त्यसैलाई संकेत गर्दै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले साउन १० गतेको केन्द्रीय कार्यसमिति बैठकमै प्रश्न गरे, ‘तपाईं हाम्रो पार्टीको महामन्त्री कि एयरपोर्टको ?’ बैठकमा नबोल्ने तर विमानस्थलमा सञ्चारकर्मीमाझ विचार दिने गरेको भन्दै शाहीले प्रश्न गर्दा पनि कोइरालाले जवाफ दिएनन् । मुस्कुराए मात्रै ।


सार्वजनिक मञ्चमा कम र नरम शैलीमा बोल्ने कोइराला केही दिनअघि नेपालगन्जको एउटा कार्यक्रममा भने पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक देखिए । पार्टी सञ्चालनको कार्यशैलीप्रति आलोचना मात्रै गरेनन्, पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्ने मुद्दा सार्वजनिक रूपमा पहिलोपटक राखेका थिए । ‘पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ, नेतृत्व परिवर्तनका लागि हामी (संस्थापन इतरपक्ष) एकै ठाउँमा हुनुपर्छ,’ कोइरालाको भनाइ थियो, ‘दुई–तीन जना उम्मेदवार भयौं भने फेरि पनि शेरबहादुरजी नै आउनुहुन्छ ।’


आगामी १४ औं महाधिवेशनका लागि नेतृत्वमा आपसी प्रतिस्पर्धा चलिरहेका बेला महामन्त्री कोइरालाको यस्तो अभिव्यक्ति आएको हो । पार्टीका आन्तरिक मुद्दामा एकै ठाउँ देखिँदै आएको संस्थापन इतरपक्ष नेतृत्वको सवालमा भने विभाजित छ । महामन्त्री कोइरालाको अभिव्यक्ति त्यसैप्रति लक्षित हो । संस्थापन पक्षमा सभापति देउवालाई चुनौती दिने अर्को उम्मेदवार देखिन्न । आफैंले छाडेबाहेक देउवा निर्विकल्प उम्मेदवार हुन् ।


संस्थापन इतरपक्षमा भने आधा दर्जनजतिले नेतृत्वका लागि दौडधुप गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडलका अतिरिक्त महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइरालासमेत नेतृत्वका दावेदार छन् । रामशरण महत र अर्जुननरसिंह केसीले पनि सहमति नहुने हो भने आफूहरू पनि अग्रसर हुने बताउँदै आएका छन् । तर, उनीहरू संस्थापन इतरपक्षलाई एक बनाउने भूमिकामा केन्द्रित देखिएका छन् ।


एक होला इतरपक्ष ?

एक वर्षको कार्यकाल थप्दा पनि पार्टीको १४ औं महाधिवेशन अबको डेढ वर्षपछि हुन्छ । नेताहरूको अंकगणित भने सुरु भइसकेको छ । पार्टीको विधान, नियमावली या सांगठनिक संरचना निर्माणकै विषय किन नहोस्, आ–आफ्नो रणनीति बनाएर निर्णय लिन खोज्दा पार्टी पछिल्लो समय अनिर्णयको बन्दी बन्दै गएको छ । ‘पार्टीको संगठन हेरेर होइन, भोलि म आउँछु कि आउँदिनँ भन्ने हेरेर दुवै पक्ष (संस्थापन र संस्थापन इतरपक्ष) अघि बढ्न खोज्दा विवाद छरपस्ट भएको छ, पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यो अवस्थाको गतिले १४ औं महाधिवेशन नै हुन्छ कि हुन्न भन्ने आशंका जन्माएको छ ।’


पार्टीमा देखिने तीन गुट छन्, सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाको । संस्थापन पक्ष सभापति देउवाकै नियन्त्रणमा छ । विजय गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खडकाको उपगुट भए पनि तीनको भूमिका देउवाको सहयोगीका रूपमा छ । मुद्दा र नेतृत्वको सवालमा समेत एक ठाउँमा संस्थापन पक्ष छ ।


संस्थापन इतरपक्षमा वरिष्ठ नेता पौडेल र सिटौलाका गुट छन् । पौडेल समूहमा पनि कोइराला परिवारभित्रै महामन्त्री शशांक र शेखरका आ–आफ्नै उपगुट छन् । त्यस अतिरिक्त सिंहको छुट्टै गुट छ । १३ औं महाधिवेशनबाट पार्टीमा सिटौला गुट जन्मेको हो । यो गुटमा केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेललगायतका युवा नेता जोडिएका छन् । १३ औं महाधिवेशनमा सिटौलाकै सहयोगबाट देउवालाई सभापति बन्न सहज भएको थियो । त्यतिबेला देउवा, पौडेल र सिटौला तीनैजना सभापतिको उम्मेदवार थिए ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला सिटौलाले देउवालाई सहयोग गरेका थिए । गएको संसदीय निर्वाचनका बेलादेखि देउवा र सिटौलाबीच सम्बन्ध टुटेको हो । पार्टीको उम्मेदवार चयन प्रक्रियाबाटै सिटौला देउवासँग चिढिएका थिए । निर्वाचनमा पार्टी हारेपछि भने सिटौलाले विधिवत् देउवा शिविर छाडे । त्यसपछि पार्टीको आन्तरिक मुद्दामा एकै ठाउँमा देखिए पनि पौडेल र सिटौलाबीचको आशंका भने मेटिएको छैन ।

पौडेल र सिटौलाबीचको आशंकालाई मेटाउन केन्द्रीय सदस्य केसी लाग्दै आएका छन् । उनकै पहलमा धेरैपटक पौडेल र सिटौलाबीच बैठक बसेको छ । तैपनि बेलाबखत दुई नेताबीचको आशंका र विवाद आउने गर्छ । सिटौला पक्षमै रहेका गगन थापा र प्रदीप पौडेलको भूमिकासमेत संस्थापन इतरपक्षलाई गोलबन्द बनाउनेमा केन्द्रित छ । ‘मुद्दामा हामीबीच कुनै विवाद छैन,’ केसीले भने, ‘नेतृत्वमा हामी सहमति गरेरै अघि बढ्छौं ।’ सिटौला नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने मुढमा देखिँदैनन् । पार्टीभित्र आफ्नो भूमिकाको खोजीमा भने उनी छन् । ‘सिटौला देउवा क्याम्पमै फर्कनु हुन्न । संस्थापन इतरपक्षमा आफैं हुने या कसलाई सहयोग गर्ने मनस्थिति पनि बनाउनु भएको छैन,’ सिटौलानिकट स्रोतले भन्यो, ‘परिस्थिति हेरेर निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।’


संस्थापन इतरपक्षमा कोइराला परिवारबाट शशांक र शेखर मुख्य प्रतिस्पर्धी छन् । कोइराला परिवारबाट को उम्मेदवार हुने भन्नेमा शशांक र शेखरबीच नै टकराव छ । अनौपचारिक छलफल र अन्तर्क्रियामा शेखरले १४ औं महाधिवेशनमा आफू सभापतिका लागि प्रतिस्पर्धा गरेरै छाड्ने बताएका छन् ।

शेखरलाई यसैपटक प्रतिस्पर्धा गर्नुपर्ने दबाबमा उमेर पनि कारण छ । शेखर अहिले ७० वर्षका छन् । शेखरभन्दा ५ वर्ष कान्छा शशांकको चाहना पनि यसैपटक सभापति बन्ने छ । शशांकले एक/दुई पटक आफू उम्मेदवार हुने सार्वजनिक घोषणासमेत गरेका थिए । उनको घोषणाले संस्थापन इतरपक्षमा खल्बली उत्पन्न गराएको थियो ।


पछिल्लोपटक संस्थापन इतरपक्षको भेलामा कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी घोषणा नगर्ने समझदारी बनेको थियो । पौडेल दोस्रो तहका नेताहरूमा समझदारी हुने सम्भावना कम भएपछि आफू उम्मेदवार हुनेमा ढुक्क देखिन्छन् । तर, उनलाई सिटौला र कोइराला ‘फ्याक्टर’ मिलाउन चुनौती छ ।


केन्द्रीय सदस्य केसीका अनुसार पार्टीभित्र यथास्थितिवादी र सुधारवादी धारबीचको टकराव छ । ‘अहिले जस्तो छ, त्यस्तै शैलीमा पार्टीलाई अघि बढाउँदा नै बहुमत आउँछ, पार्टी सुध्रिन्छ भन्ने यथास्थितिवाद र त्यस्तो सोच र प्रवृत्तिले पार्टीको सुधार हुन सक्दैन, आमूल परिवर्तन ल्याउनुपर्छ भन्ने सुधारवादीबीच प्रतिस्पर्धा छ,’ उनले भने, ‘अहिलेको विवाद र सघर्ष पनि यसैमा केन्द्रित हो ।’


केन्द्रीय सदस्य हृदयराम थानी र सांसद सञ्जय गौतमले नेतृत्वको सवालमा अहिल्यै केही नबोली संस्थापन इतरपक्षलाई गोलबन्द बनाउन आफूहरूले निरन्तर दबाब दिइरहेको बताए । ‘महाधिवेशन हुने बेलासम्म जसको पक्षमा बलियो परिस्थिति बन्छ, उसैलाई नेतृत्व मानेर जाने तर अहिल्यै केही नबोल्ने समझदारी छ,’ थानीले कान्तिपुरसँग भने, ‘यसका लागि हामीजस्तै दोस्रो तहका धेरै नेताहरूले दबाब दिने गरेका छौं ।’


नेतृत्वलाई लिएर इतरपक्षमा देखिने असन्तुष्टिको फाइदा लिन सकिनेमा देउवा ढुक्क छन् । उनीनिकट एक केन्द्रीय सदस्यका अनुसार संस्थापन इतरपक्ष एक भए भने उम्मेदवार हुने कि नहुने भन्नेमा प्रश्न उठ्न सक्छ । ‘पार्टीको महाधिवेशन भनेको नेटवर्किङ मत हो । केन्द्रदेखि तलसम्म संस्थापन पक्ष इन्ट्याक्ट छ,’ तिनले भने, ‘अहिलेसम्म उहाँ सभापति हुनेमा ढुक्क हुनुहुन्छ ।’

प्रकाशित : श्रावण २६, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?