विपद् बढेपछि इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न सरकारलाई निर्देशन दिएको छ ।

विपद् बढेपछि इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न निर्देशन

समितिको आइतबार बसेको बैठकले जथाभाबी सडक ट्र्याक खोल्ने प्रवृत्तिले बाढीपहिरोसँगै वातावरणीय विनाश बढेको र राज्यको अर्बौं रकम दुरुपयोग भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।

समिति सदस्यहरूले बिनाअध्ययन सडक ट्र्याक खोल्ने कार्यले बाढी–पहिरोजस्ता विपद् निम्त्याएकाले आगामी दिन यस्तो कार्य हुन नदिन सरकारलाई आग्रह गरे ।


बैठकले निर्माणाधीन सडकमा वर्षामा आउन बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस ड्रेनेज’ को व्यवस्था मिलाएर मात्र निर्माण कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आसन्न दसैं, तिहार, छठ, ल्होसार, इदलगायत चाडपर्वलाई मध्यनजर गरी हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक र पुल प्राथमिकतासाथ मर्मत गरी नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।


समितिले वर्षाका कारण क्षति पुगेका सडक–पुलको दीर्घकालीन समाधानका लागि तत्काल योजना बनाएर काम अघि बढाउनसमेत सरकारलाई निर्देश गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका तर बर्खाले क्षति पुगेका सडक र पुल कसले बनाउने भन्ने द्विविधा तत्काल अन्त्य गरेर काम अघि बढाउन सुझाइएको छ ।


बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढीपहिरोमा क्षतिग्रस्त सडक र पुल मर्मतलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले वातावरणीय प्रभाव मूल्यांकनका नाममा कुनै पनि पूर्वाधार निर्माणमा विलम्ब गर्न नदिइने उल्लेख गर्दै यस वर्षका भौतिक पूर्वाधार निर्माणका सबै ठेक्का आगामी भदौभित्र सक्ने गरी काम अघि बढाइएको जानकारी गराए ।


‘सडक होस् वा अरू पूर्वाधार निर्माण नै किन नहोस्, जसले ठेक्का लिएको छ, उसले नै खनेको ठाउँका खाल्टाखुल्टी पुर्नुपर्छ, कसैले हेलचेक्र्याइँ गर्‍यो भने उसले पाउने रकमबाट त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिएको छ,’ उनले भने ।


बैठकमा समिति सदस्यहरूले भौतिक पूर्वाधारमन्त्री र मन्त्रालयका अधिकारीहरूसित हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा क्षति भएका सडक र पुलको विद्यमान अवस्थाबारे जानकारी लिँदै भत्किएका सडक र पुल छिटो मर्मत गर्न आग्रह गरे ।


प्रकाशित : श्रावण २६, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?