कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

दीपक परियार

मुस्ताङ — मुक्तिनाथ मन्दिरको फेदी रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय जनप्रिय युवा क्लबले ऐतिहासिक पर्व यार्तुङ महोत्सवको आयोजना गरेका हुन् । बिहीबारसम्म चल्ने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनी घोडामा सवार भएर कार्यक्रमको उद्घाटन गरेका थिए । स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गरे । घोडामा चढेर खादा टिप्ने, पैसा टिप्ने लगायत कौशलको प्रदर्शन उनीहरुले गरे ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)
मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

खेतीपाती थन्क्याएर बर्खालाई बिदाइ गर्ने पर्वका रुपमा मुस्ताङमा ‘यार्तुङ’ मनाइन्छ । जनैपूर्णिमाको दिन विशेष रुपमा यार्तुङ मनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्र झकिझकाउँ छ । पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रुपमा मनाइएको हो । पहिले एकदिन मात्रै यार्तुङ मनाइने भएपनि क्लबले केही वर्षयता भने महोत्सवकै रूपमा मनाउँछ । गाउँपालिकाले महोत्सव पहिलोपल्ट आयोजना गरेको हो ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

हरेक वर्ष मनाइने ऐतिहासिक यार्तुङ मेला मुस्ताङमा विशेष रुपले मनाइन्छ । हिमाली भेगहरु मनाङ, गोरखाको चुम–नुब्री, डोल्पामा समेत यार्तुङ मनाउने गरिएको छ । मुक्तिनाथ रानीपौवाका व्यवसायी सुरज गुरुङका अनुसार पहिला तिब्बती क्यालेन्डरअनुसार यार्तुङ मनाइन्थ्यो । अहिले भने नेपाली पात्रोअनुसार नै मनाइन्छ । स्थानीयले सल्लाह गरी केही वर्षयता हरेक वर्ष जनैपूर्णिकाको दिन यार्तुङ मनाउन थालेका हुन् । तिब्बती भाषामा ‘यार’ को अर्थ ‘बर्खा’ र ‘तुङ’ को अर्थ ‘मेला’ हुन्छ । बर्खालाई बिदाइ गर्ने पर्वको रुपमा हिमाली भेगका स्थानीयले यार्तुङ मनाउने गर्छन् । यार्तुङमा हुने गतिविधि घोडचढीसँग जोडिन्छन् ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

मुस्ताङका स्थानीय युवाले घोडचढी कौशल देखाउने अवसरको रुपमा यार्तुङलाई लिन्छन् । यार्तुङको समयमा स्थानीयवासीले विशेष गरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङका अनुसार यार्तुङ मनाउने दिन स्थानीय आआफ्नो घोडा सजाएर गुम्बामा भेला हुन्छन् । मुक्तिनाथ मन्दिर पुग्छन् । त्यहाँ रहेको नरसिंह गुम्बामा पूजाआजा गरी साँझतिर आफ्नो टोलमा फर्कन्छन् । घोडचढीका लागि तयार गरिएको स्थानमा स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गर्छन् ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

परम्परागत रुपमा मनाइँदै आएको यार्तुङ पर्वलाई संरक्षण गर्न यसलाई महोत्सवको रुप दिइएको उनी बताउँछन् । ‘ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको यार्तुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गरेका छौं,’ उनले भने, ‘गाउँपालिका भित्रको साँस्कृतिक विविधता प्रदर्शन, गाउँ गाउँ बीचका युवाको सम्बन्ध प्रगाढ बनाउन महोत्सव लाभदायी हुने छ ।’

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार महोत्सव सुरु हन थालेदेखि घोडचढीलाई प्रतियोगिताको रुपमा मनाउन थालिएको छ । बुधबार ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुरीको घोडा दौड प्रतियोगिता महोत्सवमा हुनेछन् । घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रस्तावित हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणस्थलमा सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुँदैछ ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ । गाउँपालिका भित्रका १९ गाँउका परम्परागत भेषभुषा प्रदर्शन महोत्सवमा हुने छ । ऐतिहासिक मास्क डान्स महोत्सवको आकर्षण हो । मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेका मुस्ताङबासी समेत फर्केर आउँछन् । महोत्सवमा दुई करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । १० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ । फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्मु लगायत स्थानीय उत्पादनको विक्री वितरण महोत्सवमा हुने छ ।

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

पर्यटन बोर्डका पोखरा कार्यालय प्रबन्धक सूर्य थपलिया महोत्सवले प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा गर्छन् । ‘मुस्ताङको प्रकृतिको मार्केटिङ अब त्यति धेरै आवश्यकता पर्दैन,’ उनी भन्छन्, ‘यहाँका चाडपर्वलाई ‘ब्रान्डिङ’ गरेर अझैं धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)

मुस्ताङमा यार्तुङ महोत्सव सुरु (तस्बिरहरु)


प्रकाशित : श्रावण २७, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?