दुई सातामै उप्कियो कालोपत्र

कान्तिपुर संवाददाता

दमौली — तनहुँको छाब्दी मार्गमा गरिएको कालोपत्र दुई साता नपुग्दै भत्किएको छ । छाब्दीबराही मन्दिर जाने मुख्य मार्ग तीनै तहका सरकारको चार करोड रुपैयाँ लगानीमा कालोपत्र गरिएको थियो । ‘उपभोक्तासँग समन्वय नगरी सिधै ठेक्का दिइएको थियो । कालोपत्र धेरै दिन टिकेन,’ छाब्दी मार्ग उपभोक्ता समितिका अध्यक्ष मणिजंग बस्नेतले भने ।

दुई सातामै उप्कियो कालोपत्र

बस्नेतले उपभोक्तासँग समन्वय नगरे पनि सडकको स्तरोन्नति हुँदा स्थानीय खुसी रहेको तर त्यो खुसी २ साता पनि नटिकेको बताए । वर्षायाममा हिलो र हिउँदमा धुलाम्मे हुने सडकमा कालोपत्र गरिएको थियो । झरी परिरहेका बेला कालोपत्र गरिएको स्थानीयले बताए । कमसल निर्माण सामग्री राखेर झुक्याइएको स्थानीय लक्ष्मी पन्तले बताइन् । ‘ठेकेदारले आँखामा छारो हाल्ने काम मात्रै गरे,’ उनले भनिन् ।

संघीय सरकारको १ करोड लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ स्थित कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८ सय मिटर कालोपत्र गरिएको थियो । भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको २ करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको एक करोड बजेटबाट कालोपत्र गरिएको हो ।


संघ र प्रदेशको बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का जीएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको थियो । जीएस कन्स्ट्रक्सनका प्रमुख आरसी पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी जबर्जस्ती लगिँदा भत्किएको बताए ।

प्रकाशित : श्रावण २७, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?