कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

स्थानीय योजनामा भारतीय कामदार

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका– २ नागेश्वरीका छत्र लिम्बू विदेशमा छन् । रोजगारीकै लागि मलेसिया पुगेका उनी त्यहाँ निर्माण क्षेत्रमा काम गर्छन् । तीन वर्षअघि विदेसिएका उनले पठाएको रकमबाट घरखर्च चलेको परिवारका सदस्य बताउँछन् । 

यही गाउँका लोकनाथ गुरागाइँ पनि विदेशमै छन् । उच्च शिक्षा पढदापढदै बिदेसिएका उनी प्रत्येक दुई वर्षमा आउँछन् र जान्छन् । कतारको प्रचण्ड गर्मीमा काम गर्न कठिन भए पनि साथीभाइसँग बिदेसिनु बाध्यता भएको भनी सुनाउँछन् । छत्र र लोकनाथ मात्रै नभएर यो गाउँका धेरै युवा विदेशमा छन् । कतिपय बाध्यताले होलान्, कतिपय भने लहैलहैमा पनि बिदेसिएका हुन् ।


हिजोआज गाउँदेखि नगरसम्म विकास निर्माण भइरहेका छन् । कतै सडकको काम भएको छ त कतै पुल बनिरहेका छन् । तमोर नदीको दोभानदेखि दगुर्नेसम्म तीनवटा ठूला मोटरेबल पुल निर्माणाधीन रहेका छन् । यी प्रत्येक पुल कम्तीमा १० करोड रुपैयाँका हुन् । सानिमा हाइड्रो इनर्जीले पनि खोक्लिङको थुम्वामा पुल बनाइरहेको छ । गाउँका युवा रोजगारीका लागि बिदेसिएका छन् तर यहाँकै निर्माण व्यवसायी कामदार नपाएको दुःखेसो पोख्छन् । उनीहरूले आफूले पाएको ठेक्का पूरा गर्न भारतीय मजदुरको भर पर्नुपरेको सुनाउँछन् । बन्दैगरेका पुलमा काम गर्ने गाउँका युवा नभएर भारतीय मजदुर मात्रै भेटिन्छन् ।

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष दिपेन पोमुको भारतीय मजदुर लगाउनु बाध्यता भएको दाबी छ । ‘एक त गाउँमा काम गर्ने मान्छे नै छैन,’ पोमुले भने, ‘भएकाहरू पनि ध्यान दिएर समयभर काम गर्नै मान्दैनन् ।’ अहिलेका राजनीतिमा निर्माण व्यवसायीको संलग्नता रहेकाले गाउँका युवालाई काम दिएर भोट बढाउने सम्भावना नरहेको उनले बताए ।


काबेली ए हाइड्रो पावरका प्रबन्धक इन्जिनियर वीरेन्द्र श्रेष्ठ तीन कारणले विदेशबाट कामदार ल्याउनु परेको बताउँछन् । एक, भारतबाट ल्याएका कामदार दक्ष हुन्छन्, हात छिटो चलाउँछन् र कामले गति पाउँछ । दुई, उनीहरू बिहानदेखि बेलुकासम्म काम गर्छन् । तीन, दिनहुँजसो पैसा खोज्नु र दिनुपर्ने बाध्यता हुँदैन आउने बेलामा पेस्की र जाने बेलामा एकमुष्ट पैसा दिए पुग्छ । नेपाली कामदारको भने निरन्तरता नहुने, दिनहुँ पैसा दिनुपर्ने र घरायसी समस्या देखाएर पेस्की माग्ने र काममा कम दक्षता रहेको उनले सुनाए । नेपालीको तुलनामा भारतीय कामदार सस्तो पनि भएको निर्माण व्यवसायी बताउँछन् ।


पुलको फलाम जोड्नमा त शतप्रतिशत जस्तो भारतीय मजदुर कार्यरत छन् । ढलानलगायतको काम नेपालीले गरे पनि राम्रो दक्षता नभएको र बिग्रिए दोहोरो झन्झट बेहोर्नुपर्ने भएको व्यवसायीको तर्क छ । काममा दक्षता राखे र इमान्दारिता प्रदर्शन गर्न सके नेपाली नागरिकले पनि धेरै हदसम्म रोजगारी पाउने व्यवसायी उदय आङवोहाङ बताउँछन् ।


उनका अनुसार निर्माण क्षेत्रमा काम गर्नेले विदेशमा जत्तिकै श्रम पनि पाउँछन् । ‘यहींका भए ल्याउने लैजाने झन्झट हुँदैन र केही बढी नै पैसा पनि दिन सकिन्छ,’ उदयले भने, ‘तर दक्षता नभए आफैं फस्न सक्ने भएकाले त्यसमा चाहिँ सम्झौता हुँदैन ।’

प्रकाशित : श्रावण २७, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?