कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

संसद्का गाडी खरिदबारे छानबिन समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि संघीय संसद्ले त्यसको खरिद प्रक्रियाका विषयमा छानबिन थालेको छ ।

संसद्का गाडी खरिदबारे छानबिन समिति

सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा अनियमितता आशंका गरेपछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर छानबिन सुरु गरिएको हो ।


सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले समिति गठन गरेको समितिमा प्रतिनिधिसभाका ३ र राष्ट्रिय सभाका २ सांसद छन् । सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छन् ।


सभापतिहरूले नयाँ गाडी बिग्रिनुमा अनियमितताको आशंका हुन सक्छ भनेकाले सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको सभामुख महराले बताए । सभामुख र अध्यक्षसँग शुक्रबार भएको बैठकमा सांसदहरूले छानबिन गर्न माग गरेका थिए । ‘गाडीमा केही पार्टपुर्जा कन्डिसनका छैनन् भन्ने गुनासो आयो, कम्पनीले बदमासी गर्‍यो कि कर्मचारीले गरे पत्ता लगाउन समिति गठन गरेका हौं,’ महराले कान्तिपुरसँग भने, ‘समितिले टेन्डर प्रक्रिया, खरिद प्रक्रिया र कम्पनीका मान्छे बोलाएर बुझ्नेछ ।’


समितिलाई १५ दिन म्याद दिइएको छ । संसद् सचिवालयले १६ वटा समितिका सभापतिका लागि दुई चरणमा गाडी खरिद गरेको थियो । पहिलोपटक ५ वटा र दोस्रोपटक ११ वटा स्कोर्पियो किनिएको थियो । सबै गाडी महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट खरिद गरिएको हो ।


सचिवालयका अनुसार वैशाख दोस्रो साता र असार २३ गते ती गाडी किनिएको थियो । पछिल्लोपटक शशि श्रेष्ठ, रामनारायण बिडारी, निरुदेवी पाल, नीरादेवी जैरु, दिलकुमारी (पार्वती) रावल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, पवित्रा निरौला खरेल, लक्ष्मणलाल कर्ण, परशुराम मेघी गुरुङ र पूर्णकुमारी सुवेदीका लागि गाडी ल्याइएको थियो । पोखरेलबाहेक सबैले गाडी लिइसकेका छन् ।


अधिकांश गाडीमा झ्याल–ढोकाका सिसा खोल्न–लगाउन नमिल्ने, कुनै स्टार्ट नै नहुने, कुनैको वाइफर नचल्ने समस्या देखिएको छ । सबै गाडीको स्पिकरमा समस्या देखिएको छ । राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठलाई सुरुमा दिएको ४८७५ नम्बरको गाडीमा गियरको समस्या आएपछि अहिले अर्कै गाडी दिइएको छ । बिग्रिएको गाडी बिक्रेता अग्नि प्रालिले वर्कसपमा लगेर तीन दिनपछि परिसरमा ल्याएर राखिदिएको छ ।


कम्पनीका प्राविधिकद्वारा जाँच

सचिवालयका कर्मचारी र कम्पनीका प्राविधिकले सोमबारै सचिवालय परिसरमा भएका ६ वटा गाडीको जाँच गरेका छन् । उनीहरूले सभापति बिडारीको गाडी सचिवालयबाट उनको निवाससम्म टेस्ट ड्राइभ गरी सचिवालयमै फर्काएका थिए ।


‘हामी कम्पनीबाट आएका ६ जना र सचिवालयको टिमसहित चालकलाई राखेर ६ वटा गाडीको यहीं (सचिवालय परिसर) जाँच गर्‍यौं र बिडारी सरको गाडी नैकापसम्म पुर्‍याएर ल्यायौं, अरू ५ वटा गाडी फिल्डमा रहेकाले जाँच गर्न सकेनौं,’ अग्निका सर्भिस हेड शिवसुदन श्रेष्ठले कान्तिपुरसँगै भने, ‘ठूलो प्राविधिक समस्या केही देखिएन, स–साना नट बोल्ट जोडाइ र एक्सिसरिज फिट सही नभएको देखियो ।’


उनले डेकोरेसन कम्पनी र चालकमा प्राविधिक ज्ञान नहुँदा गाडीमा समस्या देखिएको दाबी गरे । सभापतिहरूले गुनासो गरेपछि गत साता कम्पनीले ११ मध्ये १० वटाको स्पिकर सचिवालयमै आएर फेरेको थियो । ‘महिन्द्रा ब्रान्डको स्पिकरको ठाउँमा सोनीको राखिएको रहेछ, त्यो अलि फिट नभएकाले १० वटा महिन्द्राकै फेरिदियौं, एउटा फेर्न बाँकी छ,’ श्रेष्ठले भने, ‘असार अन्त्यसम्म गाडी बुझाउनुपर्ने भएकाले हतारहतार काम गर्दा केही प्राविधिक समस्या भएको हो, यो नियतभन्दा पनि मानवीय त्रुटि हो ।’ उनले ती गाडी असार १५ गते मात्रै भन्सार छुटाएर ल्याएको बताए ।


सचिवालयको आन्तरिक शाखाका प्रमुख अधिराज राईले प्रक्रियाअनुसार गाडी खरिद गरेर कम्पनी र सचिवालयको प्राविधिक टोलीले जाँच गरी सभापतिहरूलाई उपलब्ध गराएको बताए । ‘परीक्षण गरेरै वितरण गरेका हौं तर पछि विभिन्न समस्या आयो,’ उनले भने, ‘गियरमा समस्या आएको गाडी कम्पनीले वर्कसपमा लगेर ल्याइदिएको छ, अर्को परिवर्तन गर्‍यो कि त्यसैलाई बनायो, थाहा भएन, अहिले परिसरमै छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?