स्थानीय तहका जनप्रतिनिधिमा विदेश भ्रमण मोह : को कति पटक गए ?  

रासस

काठमाडौँ — स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । 

वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् ।

काठमाडौ महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्की संयुक्त राज्य अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मङ्गोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अस्ट्रिलियाको भ्रमणमा गएका छन् । काठमाडौँका प्रमुख शाक्य अमेरिका गत भदौमा जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा गएका छन् । उनी अमेरिका जाँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर गत भदौमा गएका थिए । काठमाडौँका प्रमुख शाक्य भगिनीसम्बन्ध रहको अमेरिकाको फ्रेडरिकवर्ग शहरको अवलोकन गर्न र चीनमा भने चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज् कन्फरेन्समा भाग लिन गएका हुन् ।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गरेका छन् । उनले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गरेका हुन् । यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसकेका छन् । चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरिसकेका छन् ।

सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी जापानको भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी थिए । वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत गएका थिए ।

यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१/२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिए ।

पोखराका प्रमुख जीसीले गत वर्षको साउन १४ देखि १८ गतेसम्म गरेको वैदेशिक भ्रमणमा महानगरका पदाधिकारीसहित कर्मचारीसमेत गएका थिए भने लमहीका प्रमुख चौधरीको तीन दिनको चीन भ्रमण टोलीमा अन्य स्थानीय तहका प्रमुख थिए । भ्रमणमा जानेमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ । भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया छन् ।

पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ ।

प्रवक्ता बरालले निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ । “जथाभावी भ्रमणलाई हामीले रोक लगाएका छौं, उनले भने, “निर्देशिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेका छौँ ।” स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पु¥याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृती दिने उनले जानकारी गराए ।
–––

प्रकाशित : श्रावण २८, २०७६ १७:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिनी मार्केटमा भीषण आगलागी, ३२ सटर जले, करोडौंको क्षति [तस्बिरहरु]

लालप्रसाद शर्मा, विना थापा

(पोखरा) — अपराह्न ४ बजेको हुँदो हो । दीपेन्द्र क्षेत्री खाजा खाँदै थिए । अकस्मात् सँगैको फोम हाउसबाट आगोको मुस्लो निस्कियो । उनीसहित तीन जनाले कार्पेट ताने । दुई थान कार्पेट के तानेका थिए, आगोको लप्का ह्वारह्वार्ती उनीहरूतर्फ आयो ।

‘सानै होला, नियन्त्रणमा लिन सकिएला भन्ठानेर कार्पेट तानेका थियौं,’ क्षेत्रीले भने, ‘तर आगलागीले भित्रभित्रै ठूलै क्षति पुर्‍याइसकेको रहेछ । हारगुहार गर्दै बाहिर निस्कियौं ।’

न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा ३२ सटर नष्ट भएका छन् । तिनमा ७ जनाले पसल सञ्चालन गर्दै आएका थिए । मिनी मार्केट सञ्चालकमध्येका यदु पोखरेलले ६/७ करोड जतिको क्षति भएको बताए ।

मार्केटभित्र होम डेकोरेसन, रेस्टुरेन्ट, कुर्ता तथा सारी, चस्मा, फलफूल र इलेक्ट्रिकल पसल थिए । ‘शुभ युनिक होम डेकोरेसनका ९ सटर थिए,’ पोखरेलले भने, ‘कुनै पनि चिज निकाल्न नपाई ३२ वटै सटर नष्ट भए ।’ उनका अनुसार मार्केट बनाउन मात्र १ करोड खर्च भएको थियो ।

घटनामा मानवीय क्षति भने हुन पाएन । सँगैको सिटिजन्स बैंकका सेक्युरिटी गार्ड मानसिंह गुरुङले आगो लागेको देख्नासाथ दमकल बोलाएको बताए । दमकल २० मिनेट ढिलो पुगेको थियो । ‘शुभ युनिकको तन्ना र खोल सिलाउने ठाउँबाट आगो निस्केजस्तो लाग्छ,’ गुरुङले भने, ‘समयमै दमकल आएको भए आधा सामान जोगाउन सकिन्थ्यो कि !’ उनकी श्रीमती मायाले पनि रेस्टुरेन्टमा खाजा खाँदै गर्दा आगो लागेको थाहा भएको बताइन् । तत्कालै बाहिर ननिस्केको भए आफूहरू पनि आगोमा पर्ने उनको भनाइ छ । ‘हेर्दाहेर्दै सबै सटर खरानी भए, हामीसँग हेर्नुबाहेक विकल्प रहेन,’ उनले भनिन् ।

मार्केटसँगै शिवशक्ति स्टिल फर्निचर उद्योगको शोरुम र गोदामसमेत थियो । फर्निचरका सबै सामान सडकमा निकालिएको थियो । उक्त सटरमा भने आगो आइपुगेन । आगो नियन्त्रणमा लिन करिब २ घण्टा लागेको थियो । आगो निभाउन ४ दमकल, दर्जनभन्दा बढी पानी बोक्ने ट्यांकर प्रयोग गरिएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण आगो नियन्त्रणमा खटिएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी निरीक्षक गणेश सुवेदीले क्षतिको एकिन विवरण नआएको बताए । उनका अनुसार विद्युत् शट भई आगो लागेको आशंका गरिए पनि कारण खुलेको छैन

प्रकाशित : श्रावण २८, २०७६ १७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT