कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बालुवा झिकेको खाल्डोमा मृत्यु भएकाको शव परिवारले बुझे, २५/२५ लाख राहत दिने सहमति

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिका १ ओखरपौवामा बालुवा झिकेको खाल्डोमा परी मृत्यु भएका परिवारलाई २५/२५ लाख राहत दिइने सहमति भएको छ । 

बालुवा झिकेको खाल्डोमा मृत्यु भएकाको शव परिवारले बुझे, २५/२५ लाख राहत दिने सहमति

मंगलबार अपराह्न मृतकका परिवार, स्थानीय तहका पदाधिकारी, डोजर मालिक, जग्गावाला मिलेर प्रतिमृतक २५/२५ लाख रकम दिने भएपछि शव उठेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । हाललाई १ लाख दिने र बाँकी रकम ३५ दिनभित्र दिने सहमति छ । सहमति अनुसार डोजर साहु धादिङका रामकृष्ण रेग्मीले ३३ लाख रुपैयाँ, बालुवा ठेकेदार मोहनकृष्ण श्रेष्ठ बलामीले ११ लाख, बालुवा डम्पिङ गर्ने जग्गा धनी राजेन्द्र बलामीले ६ लाख रुपैयाँ व्यहोर्ने छन् ।


सोमबार साँझ ककनी गाउँपालिका १ ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रुपमा बालुवा झिकिएको खाल्डोमा नुहाउन गएका स्थानीय १३ वर्षीया बिनिता बलामी र सिन्धुली फिक्कल गाउँपालिका ३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु थियो । बलामीलाई बचाउन जाँदा तामाङको समेत मृत्यु भएपछि आक्रोशित आफन्तले क्षतिपूर्ति माग गर्दै शव उठाउन दिएका थिएनन् ।


शवको पोस्टमार्टम गर्न काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मंगलबार बिहानदेखि उक्त क्षेत्रमा तनाव उत्पन्न भएपछि सदरमुकाम विदुर, ककनी र काठमाडौंबाट नेपाल प्रहरी र सशस्त्र खटाइएका थिए ।


धादिङ थाक्रे गाउँपालिका, धुनेबेंसी नगरपालिका, नुवाकोटपट्टि ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका भएर कोल्पुखोला बग्छ । उक्त खोलामा अवैधरुपमा बालुवा झिकेर रातारात काठमाडौं लगी बिक्री गर्ने गरिएको छ ।अवैधरुपमा बालुवा झिक्ने कार्य भइरहँदा पनि स्थानीय प्रशासन र प्रहरीले चासो नदिएको स्थानीयको गुनासो छ । उक्त खोलामा ३० वटा डोजरले प्रयोग गरेर अवैधरुपमा बालुवा झिक्ने गरिएको छ ।


प्रकाशित : श्रावण २८, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?