सीईओको उमेर हदमा सर्वोच्चको अन्तरिम आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — उमेरले ६५ वर्ष कटेका व्यक्ति बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाउने राष्ट्र बैंकको व्यवस्था विपरीत सर्वोच्च अदालतले अन्तरिक आदेश जारी भएको छ ।  

सीईओको उमेर हदमा सर्वोच्चको अन्तरिम आदेश

उमेरहदका कारण पद छोड्नु परेका प्राइम बैंकका सीईओ नारायणदास मानन्धरको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो ।


अन्तरिम आदेश पनि मानन्धर मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म बैंकमा सीईओको रुपमा काम गर्न बाटो खुलेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनका लागि भन्दै राष्ट्र बैंकले गत २० गते सीईओ र सञ्चालकको उमेर हद तोकेको थियो ।


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीईओको उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न पाउँदैनन् ।


‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्षपछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन ।’


यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन ।’


यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ । बाफिया अहिले स्वीकृतिको क्रममा छ । त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको थियो ।


प्रकाशित : श्रावण २८, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?