नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा कर्णालीका मन्त्री खत्रीमाथि बैंकिङ कसुरको मुद्दा, ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

कृष्ण ज्ञवाली, कलेन्द्र सेजुवाल

काठमाडौँ — कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा परेका छन् । ठेकेदारसमेत रहेका मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो ।

उच्च अदालत पाटनले उनलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

खत्रीलगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । अरूलाई पक्राउ गरिए पनि मन्त्रीको हकमा केही नगरेको भन्दै उच्च अदालतले उनलाई तत्काल झिकाउन आदेश गरेको छ । ‘न तारेखमा राखिएको छ, न फरार भन्न सकिने अवस्था छ,’ उच्च अदालत स्रोतले कान्तिपुरसित भन्यो, ‘२५ हजार रुपैयाँको चेक बाउन्स मुद्दामा व्यक्ति थुनामा पर्छन् । मन्त्री पदमै बसेकाले उन्मुक्ति पाउन मिल्दैन भनेर आदेश भएको हो ।’

न्यायाधीशहरू श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले आदेशको प्रति महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई समेत दिन आदेश गरेको छ । आदेशमा ५ नम्बर प्रदेशका मन्त्री भनिए पनि खत्री कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री हुन् । मुद्दामा फरार प्रतिवादी भनी राजुप्रसाद श्रेष्ठ र खड्कबहादुर खत्रीको नाम किटिएको छ । अनुसन्धानका क्रममा यिनीहरूलाई कागजात गराएको देखिएको छ । अनि खत्रीले आफू मन्त्री भएको समेत स्विकारेका छन् । अदालतले उनीहरूका साथमा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीसँग ६ लाख रुपैयाँका दरले धरौटी माग्दै बुझाउन नसके थुनामा पठाउन आदेश दिएको छ ।

मन्त्री खत्रीसहितको टोलीले आफू पदमा पुग्नुअघि कृषि विकास बैंकबाट जारी ग्यारेन्टीपत्र एउटा ठेक्काका क्रममा जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका थिए । सन् २०१६ जुन १० र सन् २०१६ को नोभेम्बर ४ का दुईवटा बैंक ग्यारेन्टी कृषि विकास बैंकबाट जारी नभएको भेटियो ।

कृषि विकास बैंकले २०७४ साल जेठ २५ गते पत्र लेखेरै ती पत्र आफ्नो कार्यालयबाट जारी नभएको प्रस्ट्यायो । ‘विवादित बैंक ग्यारेन्टी तयार पार्ने अनि जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गर्ने काममा यी प्रतिवादीको संलग्नता देखिएको,’ आदेशमा भनिएको छ, ‘उनीहरूको इन्कारी बयान भएपछि अर्काको पोल लगाएर बयान गरेको अनि बैंकिङ कसुर ऐनअनुसार सजाय माग गरेको देखिएकाले धरौटी वा जमानत माग गरी तारिखमा राख्नू ।’

उच्च अदालतको वाणिज्य इजलासले खत्री मन्त्री पदमा नरहेको भए उनको नाममा म्याद तामेल गर्न आदेश गरेको छ । सार्वजनिक पदमा रहेको व्यक्ति बैंकिङ कसुरजस्तो गम्भीर आरोपमा मुछिनु नैतिकताको प्रश्न हो । अदालतमा उपस्थित भएपछि मन्त्री खत्रीमाथि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमाग्ने वा साधारण तारेखमा रिहा गर्ने विकल्प हुन सक्छन् ।

थुनामा पठाए निलम्बनसरह हुने भए पनि धरौटी मागे वा साधारण तारेखमा रिहा भए उनको पदीय हैसियत के हुने भन्ने अन्योलसमेत छ ।

विवादास्पद पृष्ठभूमि
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्री विवादास्पद ठेकेदार हुन् । उनी संलग्न कम्पनीले उनको मन्त्रालय मातहतकै जलस्रोत तथा सिँचाइ विकास डिभिजनका सातवटा ठेक्कामा काम गरिरहेको थियो । तीमध्ये तीनवटाको म्याद सकिएको डेढ वर्ष बिते पनि निर्माण अधुरै छ ।

संघीय सरकारको सिँचाइ मन्त्रालयअन्तर्गत रहेका जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय र सिँचाइ विकास डिभिजन कार्यालय मर्ज भई जलस्रोत तथा सिँचाइ विकास डिभिजन बनेको थियो । गत वर्षको साउनदेखि प्रदेश सरकार मातहत आएको उक्त डिभिजनमा खत्रीको समेत स्वामित्व रहेको केएसके कन्स्ट्रक्सन कम्पनीले कुल २३ करोड २० लाख लागतका सातवटा ठेक्कामा काम गरिरहेको छ ।

तीमध्ये छिन्चु नदी नियन्त्रण कार्यका दुईवटा प्याकेजको म्याद २०७४ असार २० गते नै सकिएको छ । तेस्रो पटक आगामी पुस ३ गतेसम्म म्याद थपिएको थियो । तर उक्त म्यादभित्र पनि काम सकिने छाँट छैन ।

छिन्चु नदी नियन्त्रण कार्यअन्तर्गत तीन करोड ५६ लाखमा सम्झौता भएको अर्को ठेक्का पनि २०७४ चैत २० मा सम्पन्न हुनुपर्ने थियो । तर समयमै काम नहुँदा म्याद थपिएको थियो । छिन्चु नदी नियन्त्रण कार्यका तीनवटै ठेक्का लुम्बिनी–प्रदीप जेभीले लिएको हो । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा दर्तार् भई एकल स्वामित्वमा सञ्चालनमा रहेको प्रदीप कन्स्ट्रक्सन सेवालाईखत्रीले २०७४ जेठ ३० गते केएसके कन्स्ट्रक्सन कम्पनीको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका थिए ।

खत्री मन्त्री भइसकेपछि पनि उनको कम्पनीले उनकै मन्त्रालय मातहतको डिभिजन कार्यालयमा थप चारवटा ठेक्का सम्झौता गरेको थियो । दुई करोड ९९ लाखको चिङ्गाडखोला (लेकबेंसी) नियन्त्रण कार्य, तीन करोड दुई लाखको इत्रामखोला (वीरेन्द्रनगर) नियन्त्रण कार्य, दुई करोड ९१ लाखको सोतखोला (बराहताल) नियन्त्रण कार्य र दुई करोड ३९ लाखको भेरी नदी (पञ्चपुरी–१०) नियन्त्रण कार्यको सम्झौता २०७४ चैत १५ गते भएको थियो ।

खत्री २०७४ साल फागुन ६ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए । महादेव–खिम्ती–केएसके जेभीले निर्माण जिम्मा लिएको यी सबै ठेक्कामा कम्पनीका साझेदार सूर्य रावतले हस्ताक्षर गरेका छन् । तीनवटा ठेक्कामा ३० देखि ३५ प्रतिशत काम भए पनि चिङ्गाडखोलामा भने काम सुरु नभएको डिभिजनका एक प्राविधिक बताउँछन् ।

मन्त्री खत्रीले आफ्नो स्वामित्वको कम्पनीले आफ्नै मन्त्रालय मातहतका काम गर्नुलाई स्वाभाविक भनी प्रतिक्रिया दिएका थिए । पहिले संघीय सरकार मातहतका कार्यालय र ठेक्का अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आए पनि बजेट नआउँदा समस्या भएको उनले बताए ।

‘बच्चा जन्माएर अर्कोलाई पाल भनेर जिम्मा लगाए जस्तो भयो, संघीय सरकारले हामीमाथि त्यस्तै व्यवहार गरेको छ,’ उनले भने, ‘अब संघीय सरकारले हामीलाई बजेटभन्दा पनि ती ठेक्कामा आफैं काम गरोस्, जसले गरे पनि हामीलाई आपत्ति छैन ।’ व्यवसायीले मन्त्री हुन नपाउने भन्ने कतै उल्लेख नभएकाले ठेकेदार र मन्त्रीको विषयलाई बढी बंग्याउन नहुने उनले प्रतिक्रिया दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री स्वामित्वको कम्पनीले उनकै मन्त्रालयमा ठेक्कापट्टा गरिरहेको विषय कर्णाली प्रदेशसभामा पनि प्रश्न उठेको थियो । दोस्रो अधिवेशनको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले यस्ता कामले कर्णाली प्रदेशकै शिर झुक्ने भन्दै उनको आलोचना गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७६ २०:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वडाध्यक्ष घूससहित पक्राउ

दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
कान्तिपुर संवाददाता

काठमाडौँ — महोत्तरीको भंग्राहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम मंगलबार घूससहित पक्राउ परेका छन् । सम्पन्न योजनाको रकम भुक्तानीका लागि सिफारिस गरेबापत सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घूससहित आलमलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सोही प्रकरणमा संलग्न आशंकामा भंग्राहा–८ कै वडा सदस्य कारी साहलाई पनि पक्राउ गरिएको छ । दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको अख्तियार जनाएको छ ।

अख्तियारले बाराको कलैया उपमहानगरका इन्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।यादवद्वयले सेवाग्राहीसँग घूस लिएर वास्तविकभन्दा बढी काम देखाई भुक्तानी दिन सिफारिस गरेको जनाइएको छ । अभियोगपत्रमा उनीहरूले कलैया उपमहानगर–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाई ५ लाख ७१ हजार रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।

अख्तियारले उनीहरूलाई बिगोबराबर जरिवाना र जेल सजाय गर्नसमेत मागदाबी गरेको छ । मुद्दा दायरसँगै दुवै जना निलम्बित भएका छन् ।

प्रकाशित : श्रावण २८, २०७६ २०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT