प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना 

(दमक, झापा) — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् । 

प्रधानमन्त्रीको समृद्धि सपना- दमकमा मात्रै दर्जन परियोजना 

ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ ।


१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको हो । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । थप २० बिघा जमिन प्राप्त गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।


दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ । सघन सहरी विकास मन्त्रालयले करिब ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको हो । यसको ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । ५ बिघा क्षेत्रफलमा निर्माण हुने ७२ मिटर अग्लो १८ तले भ्यु टावरमा २८ मिटर स्टिल टावर रहने जनाइएको छ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । प्रधानमन्त्री ओलीले ०७३ जेठ २८ गते टावर शिलान्यास गरेका थिए ।


दमकमै सभागृह, सपिङ कम्प्लेक्स, बहुतलीय बस पार्क, रोज गार्डेन पार्क, संग्रहालय, पुल, विश्व बैंकको सहयोगमा सडक, प्राविधिक शिक्षालयलगायत पनि निर्माण हुने भएका छन् । वडा नं. ९ मा सहरी विकास मन्त्रालयको लगानीमा प्रदेश १ कै ठूलो सभागृह बनाइँदै छ । एक बिघा १२ कट्ठा जमिनमा करिब दुई हजार मानिस अट्ने सभागृहको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ०७७ सालमा निर्माण सक्ने गरी काम अघि बढाइएको नगरपालिकाले जनाएको छ । डाँफे–एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले झन्डै २९ करोड रुपैयाँमा ठेक्का लिएर निर्माण गरिरहेको छ ।


नगरपालिकाले वडा नं. ७ हाटखोलामा सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने योजनासमेत अघि बढाएको छ । स्थानीय आदिवासी पदम माझीले आफ्नो निजी जमिन भनी दाबी गरेको करिब ११ कट्ठा जमिनमा अन्डरग्राउन्ड पार्किङसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना अघि सारेको हो । वडा नं. ६ मा रहेको दमक बस पार्कलाई ‘बहुतले’ बनाउने योजना पनि अघि सारिएको छ ।


सहरी विकास मन्त्रालयको लगानीमा करिब दुई बिघा क्षेत्रफलमा बहुतलीय बसपार्क बनाइने प्रशासकीय अधिकृत तिम्सिनाले बताए । प्रदेश सरकारको सहयोगमा दमक–३ मा भुटानी शरणार्थीको सम्झनामा संग्रहालय निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।


दमकमा विश्व बैंकले करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ अन्तर्गत दमक–ताराबारी, चियाबगान–अडियामल–ढुंगे र हिमावी–ढुकुरपानी–गोलाटार सडक निर्माण गर्ने भएको छ । एक अर्ब ३७ करोडको लागतमा नगरभित्र महत्त्वपूर्ण चारवटा पुल निर्माणाधीन छन् । दमकदेखि इलामको चुलाचुली जोड्ने तथा कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने गरी रतुवा खोलाका दुई स्थानमा र मोरङको मधुमल्ला तथा आमबाडी जोड्ने गरी मावा खोलामा पनि दुई ठाउँमा पुल निर्माण भइरहेका छन् ।


विश्व बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल लाइभस्टक इन्नोभेसन सेक्टर प्रोजेक्टको संयुक्त लगानीमा दमकमा सुविधा सम्पन्न पशुपन्छी बजार निर्माण गरिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको झन्डै ३ बिघा जमिनमा १५ करोड रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण गरिएको हो । ०७३ पुसमा शिलान्यास भएको पशु बजार गत चैतमा निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । तर, पशु बजार सञ्चालनमा आएको छैन ।


नगरको रिङरोड निर्माण कार्य पनि जारी छ । संघीय सरकारको बजेटमार्फत निर्माणाधीन ३६ दशमलव ४ किलोमिटर लामो रिङरोडले नगरका सबै वडालाई जोड्ने छ । वडा नं १० मा विज्ञान पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । पार्क ५ बिघा जमिनमा बनाउने नगरपालिकाले जनाएको छ ।


यसमा करिब दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । नगरको मुख्य बजार क्षेत्रमा करिब एक करोड २५ लाख लागतमा नमुना मार्ग निर्माण गरिएको हो । वडा नं. ४ मा प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापनाको गृहकार्य भइरहेको छ । यसका लागि नगरपालिकाले तीन बिघा जमिन प्राप्त गरिसकेको छ । वडा नं. ७ मा करिब ४० लाख रुपैयाँको लागतमा ‘रोज गार्डेन पार्क’ निर्माण हुने भएको छ ।


प्रकाशित : श्रावण २९, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?