रात्रि उडानलाई छुट, नेभिगेसन सेवा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने तयारी

सुरज कुँवर

काठमाडौँ — सरकारले भ्रमण वर्ष २०२० भर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि उडान गर्ने वायुसेवाहरूलाई सहुलियत दिने भएको छ । यसका लागि विमानस्थल व्यवस्थापनले छुट/सहुलियतबारे प्रस्ताव पेस गर्न सबै एयरलाइन्सलाई दुई साताको समय दिएको छ ।

रात्रि उडानलाई छुट, नेभिगेसन सेवा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने तयारी

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार मंगलबार दुई नेपालीसहित २८ वटा विदेशी एयरलाइन्सका प्रतिनिधिलाई बोलाई छलफल गरेपछि प्रस्ताव मागिएको हो ।


एयरलाइन्सबाट आउने प्रस्तावलाई एकीकृत गरी तालुक निकाय नागरिक उड्डयन प्राधिकरणको बोर्डबाट पारित गरेर अघि बढाउने महाप्रबन्धक क्षत्रीले जानकारी दिए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार विमानस्थल व्यवस्थापनलाई भ्रमण वर्षमा पर्यटक वृद्धि गराउन रात्रिकालीन उडानमा विमानस्थलले लिने नेभिगेसन सेवा शुल्क र नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ शुल्क लगायतमा सहुलियत दिन निर्देशन दिएका थिए । मन्त्री नियुक्त भएपछि पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका भट्टराईले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग बैठक गरी सहुलियतले बढ्न सक्ने उडान संख्या निर्क्योल गरी सात दिनभित्र पेस गर्नसमेत निर्देशन दिएका थिए ।


नेपालमा उडान गर्दै आएका विदेशी एयरलाइन्सले आयल निगमले विमानस्थलमा बिक्री गर्ने हवाई इन्धनको मूल्य अन्यत्रभन्दा दोब्बर हाराहारी रहेको बताउँदै आएका छन् । नेपाल आयल निगमले जहाजलाई बिक्री गर्ने हवाई इन्धनमा प्रतिकिलोलिटर (१ हजार लिटर) को १ हजार ५० अमेरिकी डलर (१ लाख १८ हजार ५ सय ५० रुपैयाँ) लिन्छ ।


विमानस्थल निरीक्षणका क्रममा मन्त्री भट्टराईले हवाई इन्धनमा लिइने मूल्य अन्य मुलुकको तुलनामा निकै महँगो भएको गुनासो अन्तर्राष्ट्रिय वायुसेवाबाट आइरहेको उल्लेख गर्दै महाप्रबन्धक क्षत्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई छलफल गर्न भनेका थिए । थप लाग्ने ल्यान्डिङ, पार्किङ, कम्युनिकेसन र नेभिगेसन सेवा शुल्क तथा ग्राउन्ड ह्यान्डलिङ लगायतको शुल्क अत्यधिक महँगो भन्दै सरकारसँग वर्षौंदेखि गुनासो राख्दै आएका छन् । त्रिभुवन विमानस्थलमा दस हजार किलोग्रामसम्म तौल भएको विमान अवतरण भए प्रतिहजार किलोग्रामको १ डलर २५ सेन्ट शुल्क लाग्छ ।


‘१ लाख किलोग्रामभन्दा बढी तौलका लागि पहिलो १ लाख किलोग्रामको ४ सय ७५ डलर लाग्छ । त्यसपछि प्रत्येक १ हजार किलोग्रामको ८ डलर ५५ सेन्ट शुल्क लाग्छ,’ विमानस्थल सेवा शुल्क नियमावलीमा लेखिएको छ । नेपाल वायुसेवा निगमले एउटा जहाजको भूमिस्थ व्यवस्थापन (ग्राउन्ड ह्यान्डलिङ) गरेबापत ६ हजार डलर (६ लाख ६० हजार रुपैयाँ) सम्म शुल्क लिने गरेको छ । मंगलबारको छलफलमा ग्राउन्ड ह्यान्डलिङ गर्ने निगमका पदाधिकारीले ‘अफआवर’मा विदेशी एयरलाइन्सलाई छुट दिन सकिने बताएको बैठकमा सहभागी एक एयरलाइन्सका प्रतिनिधिले बताए ।


मन्त्री भट्टराईले विभिन्न कारणले हुन सक्ने उडानको ढिलाइ तथा कुनै आकस्मिक कारणले पर्न सक्ने असुविधाजस्ता विषयबारे यात्रुलाई तत्काल सूचना प्रवाह गर्ने एप बनाउन भनेका छन् । विमानस्थलले बनाएको ‘टीआई एयरपोर्ट’ एप उडानको अवस्थाबारे मात्रै सूचना भएकाले यात्रुका लागि उपयोगी छैन ।


प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानासहित निरीक्षणमा पुगेका मन्त्रीले विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सी सरल, सहज र वैज्ञानिक बनाउन पनि निर्देशन दिएका छन् । उनले राति सञ्चालन हुने सबै ट्याक्सीलाई यात्रुको सुरक्षाका लागि ट्र्याकिङ प्रणालीमा जोड्न भनेका छन् । मन्त्रीले विमानस्थलमा रहेको भिसा वितरण प्रणालीलाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।


प्रकाशित : श्रावण २९, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?