१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वरिष्ठ साहित्यकार दीक्षितको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मृगाैला सम्बन्धी समस्याका कारण १२ दिनअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी घर ल्याइएको थियो ।

वरिष्ठ साहित्यकार दीक्षितको निधन

निवासमा शौचालय जाँदा बेहोस भएका उनको बिहीबार बिहान साढे ३ बजे कालिका स्थान स्थित निवासमा निधन भएकाे छोरा विनोदमणि दीक्षितले बताए ।


माडसाप : ९५


उनी भाषा–साहित्यमा पौराणिक शाश्त्र, धर्मग्रन्थ र इतिहास बिषयका सामग्रीलाई पुर्नव्याख्या गर्न तथा आख्यान लेखनमा सोधपरक शैलीलाई स्थान दिने साधकका रुपमा चिनिन्छन् ।


‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन र साझा पुरस्कार प्राप्त गर्ने दीक्षित तत्कालीन(२०५१) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए । दीक्षितका ‘चरैवती’, ‘त्यो युग’, ‘हाम्रा ती दिन’, ‘म रुादै बिर्सन्छु’, ‘बर्लिन डायरीका पाना’ लगायतका निबन्ध र संस्मरण प्रकाशित छन् ।

उनको ‘कसले जित्यो कसले हार्यो’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायतका कथा संग्रह पनि प्रकाशित छन् । दीक्षित पंचायतकालमा प्रकाशित हुने ‘समीक्षा’ साप्ताहिकका चर्चित सम्पादक समेत हुन् । दीक्षितका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

उनकाे शव निवासमै राखेर श्रद्धाञ्जली दिन लागिएकाे छ । उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी ओलीलगायतका उच्च पदस्थ अधिकारीहरु जान लागेका छन् । उनी प्रज्ञा प्रतिष्ठान मुर्दा घर नभएकाे र त्यहाँ शव राखेर श्रद्धाञ्जली दिन उचित नभएकाे भन्दै विरोध गर्दै आएका थिए । दीक्षितकै मान्यता अनुसार शवलाई प्रज्ञा प्रतिष्ठानमा नराखेर कालिकास्थानस्थित निवासमै राखिने भएको हो । उनकाे आजै अन्त्यष्ठि गरिने भएकाे छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?