नेपालको सर्वाधिक जोखिमयुक्त विमानस्थल लुक्ला

सुरज कुँवर

काठमाडौँ — ५९ वर्षको अवधिमा नेपालमा भएका हवाई घटना तथा दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा लुक्लास्थित तेन्जिङहिलारी विमानस्थल सर्वाधिक जोखिमयुक्त विमानस्थलको सूचीमा परेको छ । नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपालको नागरिक हवाई उड्डयन प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट‘ ले आन्तरिक विमानस्थलमध्ये लुक्ला सर्वाधिक जोखिमयुक्त विमानस्थलका रुपमा देखिएको उल्लेख गरेको छ ।

नेपालको सर्वाधिक जोखिमयुक्त विमानस्थल लुक्ला

यस अवधिमा लुक्लामा ९ वटा हवाई दुर्घटना भए जसमा २३ जनाको ज्यान गुमेको थियो । लुक्लापछि दुर्घटना भई अत्याधिक मानवीय क्षति भएका पहाडी विमानस्थलमा जोमसोम, जुम्ला, सिमिकोट र डोल्पा छन् ।


सन् २००९ देखि २०१८ सम्म १० वर्षको अवधिमा नेपालमा सबैभन्दा धेरै हवाई दुर्घटनाको कारण सिफिट देखिएको छ । कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन (सिफिट) भनेको पाइलटको कमान्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नु हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसका कारण दुर्घटना हुनजान्छ ।

सिफिटका कारण ७४ प्रतिशत दुर्घटना भएका छन् । दोस्रो कारणमा लस अफ कन्ट्रोल इन फ्लाइट का कारण २६ प्रतिशत र तेस्रो कारण रनवे एक्सकर्सन (आरई) धावनमार्गमा चिप्लिने रहेको छ । तर, रनवे एक्सकर्सनको दर अत्याधिक देखिएपनि यस्का कारण मानवीय क्षति भएको देखिएको छैन ।


नेपालको आन्तरिक रुटमा हेलिकप्टरदेखि क्यानेडियन सिआरजे जेट विमानसम्म उडान भर्ने १९ वटा वायुसेवा कम्पनी छन् । ५१ विमानस्थलमध्ये ३० हाराहारीमा नियमित उडान हुने गरेका छन् । प्रतिवेदनले सन् २०१० देखि २०१२ अत्याधिक मानवीय क्षतिसहित हवाई दुर्घटना दर बढेको समय भनेको छ । सन् २०१८ को आँकडालाई आधार मान्दा हवाई यात्रु वृद्धि दर अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले आन्तरिकतर्फ १५.४५ प्रतिशतले बढेको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?