१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ३ जनाको नाम सिफारिस

सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले प्रा.डा सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो । उनीहरुको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो वरीयतामा सिफारिस गरिएको समिति निकट स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ३ जनाको नाम सिफारिस

आयोगको उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए । ती मध्ये ३ जनाको नाम प्रधानमन्त्री तथा आयोगका अध्यक्षलाई सिफारिस गरिएको हो । तीनै मध्येबाट एक जनालाई उपाध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा उल्लेख छ ।


पहिलो पटकको दरखास्त आह्वान रद्द गर्दै साउन २० गते दोस्रो पटक दरखास्त माग गरिएको थियो । पहिलो पटक ६ जनाले आवेदन दिएका थिए । दोस्रो पटक दरखास्त दिएका ११ जनामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त सिफारिस समितिले सुरुमै रद्द गरिदिएको थियो । बाँकी ९ जनाको दरखास्त स्वीकृत गर्दै समितिले अन्तरवार्ताका लागि डाकेको हो ।


उनीहरुको मंगलबार र बुधबार अन्तरवार्तासहित सिफारिस समितिले प्रस्तुति लिएको थियो । प्रा.डा रमेशप्रसाद सिंह, पारसकुमार पोखरेल, तरुण पौडेल, यहुनचन्द्र सिवाकोटी, श्रीकृष्ण गिरी, शम्भुकुमार पहारी, राजेन्द्रप्रसाद साह र सुरेन्द्र शेरचनलाई अन्तरवार्ताका लागि डाकिएको हो । तीमध्ये शेरचन, पहारी र गिरी सिफारिस भएका हुन् ।


सरकारले आयोग गठन प्रक्रिया अघि बढाएपछि लोकसेवा अयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले अन्तरवार्तासँगै कार्ययोजनासम्बन्धी प्रस्तुति हेरेर आवेदकमध्येबाट ३ जना सम्भावित उम्मेदवारहरुको नाम सरकारसमक्ष सिफारिस गरेको जनाएको छ ।


उपाध्यक्ष आयोगको कार्यकारी प्रमुख रहने व्यवस्था ऐनमा छ । आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारण लगायतका काम प्रभावित बनेको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?