२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लालपुर्जा किर्ते गरी ६३ लाख ठगी

२ रोपनी जग्गालाई ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रुपैयाँ मुआब्जा
हरिहरसिंह राठौर

धादिङ — गंगाजमुना–७ का होमनाथ पौडेलले लालपुर्जामा जग्गाको क्षेत्रफल बढाई प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाबाट ६३ लाख रुपैयाँ बढी मुआब्जा लिएको पाइएको छ ।

आयोजनाले डुबानमा पार्ने जग्गाको लालपुर्जासहित स्थानीय प्रशासनमा मुआब्जा दाबी गर्न सूचना प्रकाशित गरेलगत्तै साबिक बुढाथुम ९ का पौडेलले २ रोपनी जग्गालाई ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रुपैयाँ मुआब्जा बुझेका हुन् ।


पौडेलले २०७३ वैशाख १३ गते नयाँ लालपुर्जा लिएका थिए । त्यतिबेला मालपोत अधिकृत रेवतीप्रसाद ढकाल थिए । उनी लालपुर्जा जारी भएको एक सातापछि बैशाख २० मा सेवानिवृत्त भएका थिए । कित्ता नं. ५८ को फिल्ड बुकमा क्षेत्रफल ०–१२–२–१ भएकामा लालपुर्जामा बढाएर ६ रोपनी ६ आना र कित्ता ५९ को फिल्ड बुकमा क्षेत्रफल ०–११–०–० रहेकामा नयाँ लालपुर्जामा ४ रोपनी ६ आना कायम गरिएको थियो । कित्ता नं. १४० को फिल्ड बुक र नयाँ लालपुर्जा दुवैमा ०–९–२–१ एउटै क्षेत्रफल उल्लेख छ । उनको खास २–३–०–२ जग्गाको मुआब्जा भने १४ लाख ८५ हजार हाराहारी मात्र हुन्छ ।


आयोजनाका संयोजक कृष्णबहादुर कार्कीका अनुसार फिल्ड बुक प्वाल पारेर नबुझिने बनाई लालपुर्जामा क्षेत्रफल बढाइएको छ । आयोजना प्रमुख कार्कीका अनुसार बढी रकम गएको खुलेपछि पौडेलले गल्ती ढाकछोप गर्न साउन ७ गते आयोजनालाई पत्राचार गरी रकम फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।


लालपुर्जामा उल्लिखित जग्गा ४ भागबन्डा लाग्नुपर्नेमा बढी रकम एक्लै लिएर पौडेलले छिमेकी जिल्ला काठमाडौंको चन्द्रागिरी ६ मच्छेगाउँमा घर बनाउन लागेको भन्दै अरू अंशियारले स्थानीय प्रशासनमा निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले रकम फिर्ता गर्न पौडेललाई पत्राचार गरिएको बताए । एक वर्षअघि पनि २ जना व्यक्तिले आयोजनाबाट करिब १ करोड रकम बढी लिएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?