कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ भाषा सिक्ने बढ्दै

चीनसित शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय, पर्यटनलगायत पक्षमा नेपालीको पहुँच विस्तारसँगै भाषा सिक्नेको संख्या बढ्दै गएको छ ।
गणेश राई

काठमाडौँ — नेपालमा चिनियाँ भाषा पढ्नेको संख्या बढ्न थालेको छ । त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा औपचारिक पढाइ हुँदै आएको चिनियाँ भाषा पछिल्लो समय विद्यालय तहमा समेत पठनपाठन हुन थालेको छ । केही विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत राखेर अनौपचारिक रूपमा पढाउन थालेका हुन् । 

चिनियाँ भाषा सिक्ने बढ्दै

नेपाल र चीनबीच सम्बन्ध विस्तारक्रममा नेपाल पर्यटन बोर्डलगायत निकायले पनि चिनियाँ भाषा प्रशिक्षण दिइरहेका छन् । चीनसित शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय, पर्यटनलगायत पक्षमा नेपालीको पहुँच विस्तारसँगै भाषा सिक्नेको संख्या बढ्दै गएको छ ।


सन् १९६१ मा राजा महेन्द्रले ‘विश्व भाषा विद्यालय’ उद्घाटन गरेदेखि नेपालमा आधिकारिक रूपमा चिनियाँ भाषा सिकाउन थालिएको हो । त्यही विद्यालयलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विश्वभाषा क्याम्पस बनाइएको हो ।


क्याम्पस प्रमुख भीमनाथ रेग्मीका अनुसार यहाँ विदेशी विद्यार्थी र नेपाली विद्यार्थीलाई लक्षित भाषा पढाइन्छ । विदेशी विद्यार्थीलाई नेपाली, नेवारी, संस्कृत र पालि भाषा पढाइन्छ । नेपाली विद्यार्थीका निम्ति अंग्रेजी (आधारभूत र लेखन), फ्रेन्च, स्पेनिस, जर्मन, चिनियाँ, कोरियन, इटालियन पढाइन्छ । सबै पढाइ सेमेस्टर प्रणालीमा भइरहेको छ ।


चिनियाँ भाषाको आधारभूत, विशिष्ट र विशिष्टोत्तर कक्षा सुचारु छ । प्रत्येक तहमा दुई–दुई सेमेस्टर (६ महिना एक सेमेस्टर) पढाइन्छ । विद्यार्थी, कूटनीतिज्ञ र पर्यटन क्षेत्रमा संलग्न केही व्यक्ति चिनियाँ भाषा पढ्न चीन जाने तयारीमा पनि छन् । ‘अहिलेसम्म भाषा शिक्षण मात्र हुँदै आएको छ,’ क्याम्पस प्रमुख रेग्मी भन्छन्, ‘चिनियाँलगायत केही भाषामा स्नातक तहको प्राज्ञिक पाठ्यक्रम निर्माण भएर त्रिवि विद्यापरिषद्ले पारित गरिसकेको छ । प्राज्ञिक परिषद्ले पारित गर्न बाँकी छ ।’


काठमाडौं विश्वविद्यालय (केयू) मा सन् २०१६ देखि केयू स्कुल अफ एजुकेसन र कन्फुसियस इन्स्टिच्युटको पहलमा ‘बीएड इन चाइनिज ल्याङग्वेज टिचिङ’ कार्यक्रम सुचारु छ । यो चारवर्षे कोर्स हो ।


अध्यापक अनिश मल्लका अनुसार अहिले २२ जनाले पहिलो ब्याचको चौथो वर्ष पढिरहेका छन् । तेस्रो वर्षमा २६ जना, दोस्रो वर्षमा २७ र २४ जनाले नयाँ भर्ना पाएका छन् । ‘पहिलो वर्ष धुलिखेलमा, दोस्रो र तेस्रो वर्ष चीनमा तथा चौथो वर्ष धुलिखेलमै पठनपाठन हुन्छ,’ उनले भने, ‘चीनमा पढ्ने सम्पूर्ण खर्च कन्फुसियस इन्स्टिच्युटले बेहोर्छ ।’


चारवर्षे ‘बीएड इन चाइनिज ल्याङग्वेज टिचिङ’ कार्यक्रमका निम्ति ६ लाख रुपैयाँ शुल्क लाग्छ । त्यसमा आधा कन्फुसियस इन्स्टिच्युटले बेहोर्ने भएकाले विद्यार्थीले ३ लाख रुपैयाँ मात्र तिर्छन् । पर्यटन बोर्डले नेपाल–चाइना कल्चरल एन्ड एजुकेसनल काउन्सिल (एनसीसीईसी) को व्यवस्थापनमा चार वर्षदेखि भाषा प्रशिक्षण दिइरहेको छ ।


‘केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला चीन सरकारसँग भाषा प्रशिक्षणको प्रस्ताव गर्नुभएको रहेछ,’ बोर्डकी अधिकृत सुशीलाकुमारी बरालले भनिन्, ‘त्यसैअनुसार पाँच वर्षका लागि दुई सय जनालाई चिनियाँ भाषा सिकाइँदै छ ।’


त्यसका लागि नेपालस्थित चिनियाँ दूतावासले प्रशिक्षक खटाउने गरेको छ । होटल एसोसिएसन (हान), ट्राभल एसोसिएसन, टान, टुर्गानलगायत पर्यटनसँग सम्बन्धित क्षेत्रको परामर्शमा भाषा प्रशिक्षण दिइन्छ । ‘निःशुल्क तथा ६ महिना लामो प्रशिक्षण हुनाले बीचैमा छाड्ने धेरै छन्,’ अधिकृत बरालले भनिन्, ‘भर्नाका बेला ९० जनासम्म पुगे पनि नियमितचाहिँ ४० जना जति हुन्छन् ।’


एनसीसीईसीका अध्यक्ष हरिश्चन्द्र साहले सम्झौताअनुसार पर्यटन बोर्डमा चिनियाँ भाषा प्रशिक्षणको समय एक वर्ष मात्र बाँकी छ । ‘सरकारले गरेको सम्झौताअनुसार भाषा प्रशिक्षण दिइएको हो,’ उनले भने, ‘त्यसपछि आवश्यक ठानिएमा थप व्यवस्था हुन सक्छ ।’

प्रकाशित : श्रावण ३१, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?