कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पुल भाँचिएपछि बनाइएकाे डाइभर्सन एकतर्फी सञ्चालनमा, महेन्द्र राजमार्गमा २२ किलोमिटर जाम 

जंगलमा यात्रु पानी समेत नपाएर बस्न बाध्य
नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फीमात्र  गाडी सञ्चालन हुने गरेका कारण राजमार्गमा २२ किलोमिटरसम्म जाम भएको छ । 

पुल भाँचिएपछि बनाइएकाे डाइभर्सन एकतर्फी सञ्चालनमा, महेन्द्र राजमार्गमा २२ किलोमिटर जाम 

बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ ।


डाइभर्सन निमार्ण गरिएको स्थानमा ठूला मालवाहक गाडी फँस्दै गरेकाले यातायात सुचारु हुन नसकेको हो । अरुणखोला पुलबाट पश्चिम दाउन्ने पहाडसम्म गाडीको लाइन छ भने पुलदेखि पूर्व चोरमाराको जंगलमा रहेको ४० किलोमिटर भन्ने स्थान र डण्डाबजारसम्म लाइन छ । रातभरी यात्रु पानी समेत खान नपाएर राजमार्गमै बस्न बाध्य भएका छन् ।


जामका कारण अत्यावश्यक सेवाका साधन पनि बीचमै रोकिएका छन् । शुक्रबार बिहान भरतपुरस्थित कान्तिपुर पब्लिकेशन्सको पत्रिका बोकेर भैरहवातर्फ जाँदै गरेको लु १ च ९१७० नम्बरको गाडी बिहान ४ बजेदेखि चोरमारामा जाममा छ ।


‘गाडी हिड्ने बाटो पनि छैन राजमार्गमा थोरैमात्र परिचालन गरिएका हतारिएका गाडीका चालकले प्रहरीलाई समेत टेरेका छैनन् । चालक विरेन्द्र श्रेष्ठ भन्छन्, ‘एम्बुलेन्स समेत हिड्न सक्ने अवस्था छैन ।’


अरुणखोलाको जाम छिचोल्न कम्तिमा २० घण्टा भन्दा लाग्ने गरेको छ । राजमार्गको दक्षिणबाट अरुणखोलामा बनाइएको डाइभर्सन सडकमा पानी बहावकालागि राखिएको ह्यूमपाइप भएको स्थानमा एकतर्फीमात्र गाडी सञ्चालन हुने गरेका कारण घण्टौ जाम हुने गरेको हो ।


पूर्वपश्चिम हिँडेका यात्रुले जंगलमा जाम पर्दा सास्ती भोगेका छन् । पोखराबाट बिहीबार दिउँसो सुनौली हिँडेका रामचन्द्र काफ्लेले अहिलेसम्म पनि चोरमारा कट्न नसकेकोको टेलिफोनमा जानकारी दिए ।


उनले राजमार्गमा ट्राफिक व्यवस्थापन नै नभएको गुनासो गरे । सबै गाडी ओभरट्याक गर्ने हतारमा हुइँकिँदा राजमार्गमा तेहेरो जाम भएको उनको भनाई छ ।

राजमार्ग अवरुद्ध भएको ६२ घण्टा भइसक्दा पनि दोहोरो यातायात सञ्चालन हुनसकेको छैन । घण्टौ लामो जामले अरुणखोलाको पूर्वपश्चिम दुवैतिर जंगल भएका कारण यात्रुले पानी समेत खान नपाउने अवस्था छ ।


अरुणखोलाको पानीको बहाव निकास दिन दोहोरो लाइनमा ३० वटा ह्यूमपाइप राखेर पानी बग्ने व्यवस्था मिलाएको सडक डिभिजन कार्यालय बर्दघाटले जनाएको छ । खोलामा पानीको सतह बृद्धि हुँदा ह्यूमपाइप बगाउने जोखिम उत्तिकै छ ।

अरुणखोलामा चालकले जथाभावी ओभरटेक गर्न नदिन २ दर्जन भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी दिए ।

उनले एक घण्टा जाम हुँदा टाढासम्म गाडीको लाइन हुने गरेको र देशभरीकै गाडीको चाप महेन्द्रराजमार्गमा पर्ने गरेकाले असहज भइरहेको जनाए । ‘चौबिसै घण्टा प्रहरी खटाएका छौ,’ उनले भने, ‘पानी रोकिए आवागमन सहज हुन्छ ।’


शुक्रबार बिहान पानी परेका कारण झन् असहज भएको प्रहरीको भनाई छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?