१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

भरत जर्घामगर

सिरहा — जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाध्यक्षबाटै कुटिएका छन् ।

सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो । वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवक रायको सक्कल नागरिकता प्रमाणपत्र वडाध्यक्षलाई जिम्मा दिइएको थियो । त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको हो ।


‘नागरिकता माग्दा वडाध्यक्षजीले हरायो भन्नुभयो । मैले नागरिकता चाहियो भन्दा विवाद भयो,’ पीडित रायले भने, ‘विवाद बढदै गएपछि धेरै बोल्छस् भनेर अध्यक्ष रामसोगारथजीले ममाथि हात छाड्नुभयो । मैले पनि प्रतिवाद गरेँ । पछि वडाध्यक्षले मुकेश यादव, रामनारायण यादवलगायतलाई तारले मेरो हात बाँधी निर्घात कुट्न लगाउनुभयो ।’ कुटाइबाट रायको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ ।


वडाध्यक्ष रामसोगारथ यादवले भने नागरिकता प्रतिलिपि लिन सुझाए पनि राय आक्रमणमा उत्रिएको आरोप लगाएका छन् । ‘वडा कार्यालयमा त्यतिखेर बालपोषण भत्ता वितरण भइरहेको थियो, सेवाग्राहीको घुइँचो उत्तिकै थियो,’ उनले दाबी गरे, ‘त्यतिबेला मनोजले नागरिकता मागे । नागरिकता अपर्झट चाहिए प्रतिलिपि निकाल्न सुझाएँ तर उनले मेरो टेबलमा ३/४ मुक्का हाने र सर्टको कलरमा समातेर मलाई हिर्काए ।’


सेवाग्राहीलाई समेत गालीगलौज गर्न थालेपछि उनीहरूले रायलाई तारले हात बाँधेर कोठामा थुनेको यादवको दाबी छ । ‘हात बाँधिएको तारसमेत फुकालेपछि कोठामा पसेर मैले मनोजलाई दुई थप्पड मात्र हिर्काएको हुँ,’ उनले भने, ‘अरू सेवाग्राहीले लट्ठीले दुईतीन पटक मात्र हिर्काएका हुन् ।’


सेवाग्राहीको भीडले रायमाथि अन्धाधुन्ध प्रहार गर्न थालेपछि आफूले नै उनलाई बचाएको वडाध्यक्ष यादवको दाबी गरे । मनोजका बुबासहित चार जनाको नागरिकता आफूले लिएर उपभोक्ता समिति अध्यक्ष रामनारायण यादवलाई दिएको उनले बताए । ‘फोटोकपी गर्ने क्रममा हराएछ,’ वडाध्यक्ष यादवले भने ।


यादव पूर्वएमालेबाट वडाध्यक्षमा निर्वाचित हुन् । घटनाबारे न्यायिक समितिमा जानकारी नआएको नगरपालिकाकी उपप्रमुख नमिता यादवले बताइन् । घटनाबारे अरूबाट थाहा पाए पनि आधिकारिक रूपमा दुवै पक्षबाट जानकारी नआएको नगरपालिकाका प्रमुख अशेश्वर यादवले बताए ।


वडाध्यक्षले वडा कार्यालयमै तारले बाँधेर कुटपिट गरेको घटनामा पीडितबाट मौखिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी नायब उपरीक्षक अपिल बोहोराले बताए । जाहेरी आएपछि कानुनीकारबाही अगाडि बढाउने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?