काठमाडौंमा रहेको क्याम्पसमै चौरमा पढ्न बाध्य छन् विद्यार्थी

गणेश राई

काठमाडौँ — २०७२ को भूकम्पले धेरै शिक्षालयमा क्षति पुर्‍यायो । बिस्तारै केही संरचना बने । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ताहाचलस्थित महेन्द्ररत्न शिक्षा क्याम्पसका ६ वटा भवन भने पुनर्निर्माण नहुँदा चौरमै कक्षा चलाउनुपरेको छ । उच्च शिक्षा अध्ययन गर्नेहरूले खुला चौरमै शोधकार्य परामर्श, विषयगत अभ्यासजस्ता प्राज्ञिक कार्य गर्नुपरेको छ । 

काठमाडौंमा रहेको क्याम्पसमै चौरमा पढ्न बाध्य छन् विद्यार्थी

त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये एक हो, ताहाचल । शिक्षाशास्त्र मात्र पढाइ हुने यो क्याम्पस ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । १२ वटा भवनमध्ये भूकम्पले ९ वटामा क्षति पुर्‍याएको क्याम्पस प्रमुख कृष्णप्रसाद ढकालले बताए । तीमध्ये तीनवटा भवन मात्र बस्न योग्य छन् । ६ वटा पूर्ण रूपमा बस्न अयोग्य र तीन वटा ५० प्रतिशतभन्दा बढी क्षति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणित गरेको छ । क्षतिग्रस्त भवनमा १३ वटा विषयगत विभाग थिए । प्राध्यापक कक्ष, शिक्षाशास्त्र, अंग्रेजी, नेपाली, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक, जनसंख्या तथा भूगोल, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, शिक्षण अभ्यासलगायत विभागका संरचना ध्वस्त छन् ।


‘भवन ध्वस्त भएपछि ठाउँ अभावमा शिक्षकले चौरमै बसेर प्राज्ञिक कार्य गर्नुपरेको छ,’ क्याम्पस प्रमुख ढकालले भने, ‘विश्वविद्यालय नेतृत्व र प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छौं । सम्भवतः अब प्रक्रिया अघि बढ्ने ठानेका छौं ।’


क्याम्पसको अघिल्लो नेतृत्वले सक्रियता देखाउन नसक्दा पुनर्निर्माण ढिलो भएको ढकालले बताए । र, आफूले गत वर्षदेखि मात्र क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको उनको भनाइ छ । प्राधिकरणमा २५ करोड रुपैयाँ लागतको भवन निर्माण प्रस्ताव पठाइएको उनले जानकारी दिए । ‘हामीले भवन निर्माण लागत २५ करोड रुपैयाँ स्टिमेट गरेर प्रस्ताव पेस गरेका छौं,’ उनले भने ।


भूकम्पपछि कलेजले भवन मात्र नभई खानेपानीको समेत समस्या बेहोर्दै आएको ढकालले बताए । ‘यसअघि खानेपानी संस्थानसँग समन्वय गरेर डिप बोरिङबाट पानी निकालिएको थियो । तर भूकम्पपछि सुक्यो,’ उनले भने, ‘अर्को ठाउँमा निकाल्ने प्रयास भयो तर आएन ।’


त्रिविले भूकम्पबाट १० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोरेको उसको प्रतिवेदनमा उल्लेख छ । त्यसपछिको चार वर्षमा ४ अर्बको पुनर्निर्माण गरेको उसले बताएको छ ।


महेन्द्ररत्न क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा २ हजार ८ सय २९ विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये चारवर्षे बीएडमा दुई हजार, एकवर्षे बीएडमा दुई सय र एमएडमा ६ सयभन्दा बढी छन् । कलेजले स्नातकोत्तर र बीएड आईसीटीका कक्षा सेमेस्टरमा सञ्चालन गरेको छ । स्नातकका अरू विषयमा वार्षिक परीक्षा प्रणालीअनुसार कक्षा सञ्चालित छन् ।


कलेजलाई भौतिक संरचना एवं प्रविधियुक्त बनाई शिक्षण गर्न नसकिएकाले क्याम्पसको नतिजा कमजोर रहेको ढकाल बताउँछन् । रेकर्डअनुसार विद्यार्थी उत्तीर्ण प्रतिशत बीएडमा २४ प्रतिशत र एमएडमा २७ प्रतिशत मात्र छ । ‘मास्टर्स तह सेमेस्टर प्रणाली भए पनि प्रभावकारी हुन सकेन,’ उनले भने, ‘अब २०७६ लाई प्राज्ञिक सुधार वर्ष घोषणा गरेका छौं । यो वर्ष मल्टिमिडिया कक्षा थप्दै छौं ।’


१३ प्राध्यापक, ४३ सहप्राध्यापक, ७४ उपप्राध्यापक र १५ जना शिक्षण सहायक, आंशिक शिक्षक करिब ५० र ४७ जना कर्मचारी कलेजमा कार्यरत छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?